च्याउखेतीबाटै सन्तुष्टि
तनहुँ । व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाईपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प थिएन । त्यसलगत्तै उहाँ वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो । कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता हुनुभयो ।
विदेशमा चार वर्ष पाँच महीना बस्दा उहाँले केही पैसा त कमाउनुभयो, तर आत्मसन्तुष्टि लिन सक्नुभएन । घरमै बस्दै गर्दा उहाँलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उहाँले प्लम्बिङको काम सुरु गर्नुभयो । सँगै तरकारीखेती पनि ।
प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उहाँको घरखर्च चल्दै गयो । बिस्तारै उहाँले च्याउखेतीमा भविष्य देख्नुभयो र च्याउखेती सुरु गर्नुभयो । सात वर्ष अगाडिदेखि च्याउखेती गर्नुभएका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहनुभएको छ ।
व्यावसायिकरुपमा च्याउखेती गरिरहनुभएका श्रेष्ठ अहिले सन्तुष्ट हुनुहुन्छ । ‘विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ’, श्रेष्ठले भन्नुभयो, ‘मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।’
उहाँले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहनुभएको छ । च्याउखेतीबाट वार्षिक १२ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँले च्याउखेतीका लागि आठ वटा टनेल बनाउनुभएको छ । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो ।
च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताउनुभयो । ‘अझै थप व्यावसायिकरुपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु’, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा चार सय किलो च्याउको बीउ रोप्नुभएको छ । चौबीस दिनमा टुसा पलाउन सुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ । ‘एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप चार सय किलो च्याउको बीउ लगाएको छु’, उहाँले भन्नुभयो । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।
बजार अभाव छैन
उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उहाँले सुनाउनुभयो । उहाँले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आउनुभएको छ ।
‘कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु’, उहाँले भन्नुभयो, ‘बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ ।’ श्रेष्ठका अनुसार थोकमा प्रति किलो एक सय ६० रुपैयाँ र खुद्रा दुई सय रुपैयाँ सम्म च्याउ बिक्री हुने गरेको छ ।
च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०/१५ जनालाई रोजगारी दिनुभएको छ । ‘अरु बेला घरपरिवारले नै काम गर्छौं, उत्पादन भएका बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छुुुु’, श्रेष्ठले भन्नुभयो ।
व्यास नगरपालिकाले श्रेष्ठलाई आठ लाख रुपैयाँ अनुदान दिएको छ । व्यावसायिकरुपमा खेती गरिरहेका कृषक छनोट गरी अनुदान दिइएको नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्छौं’, उहाँले भन्नुभयो, ‘उहाँको च्याउखेतीको नगरपालिकाको तर्फबाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।’
–रासस