२७ माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुनै नाटकबाजका भ्रममा परी तिनका छली कुरामा अल्मलिएर देशलाई बर्बाद पार्नु हुँदैन -प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 February, 2021 12:05 pm


काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले देश चुनावमा गइसकेकाे बताउनुभएकाे छ ।

नेकपा वाग्मती प्रदेशले काठमाडाैंमा गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले देश चुनावमा गइसकेकाले अब कसकाे सरकार बन्ने भन्ने फैसला चुनावले नै गर्ने बताउनुभयाे । काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने निर्णय आफूले गरेकाे उहाँले बताउनुभयाे । अस्थिरता र चुनाव के राेज्ने भन्ने अवस्था आफूले चुनाव राेजेकाे उहाँले बताउनुभयाे ।

‘जब उहाँहरुले काम गर्न दिनुभएन, संसद्लाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्‍याउन खोज्नुभयो, भएको बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्न थाल्नुभयो, मैले काम गर्नै नपाउने अवस्था आएपछि जनताबीच जानुपर्ने अवस्था आयो’ – उहाँले सुनाउनुभयाे ।

प्रधानमन्त्री ‌ओलीले काठमाडाैंले सुन्नेगरी कार्यकर्तालाई भन्नुभयाे – अब अस्थिरता हाेइन चुनाव चाहियाे । उहाँले बाेल्न नपाउँदै कार्यकर्ताले चुनाव चाहियाे चुनाव चाहियाे भनेर नारा लगाए । प्रधानमन्त्रीले अर्काे वाक्य भन्नुभयाे – जनता के भन्छ ? फेरि कार्यकर्ताले नारा लगाए ‘केपी ओली ले भन्छ ।’ त्यसपछि उनीहरुले केहीबेर प्रधानमन्त्रीकाे पक्षमा नारा लगाए । संवैधानिक निकायहरुले विवेकपूर्ण तरिकाले फैसला गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयाे ।

वर्तमान सरकारले जति काम इतिहासमै अरु कुनै सरकारले पनि नगरेकाे उहाँले बताउनुभयाे । आजकाे सभा कास्टिङ मात्र भएकाे भन्दै उहाँले फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अझ ठूलाे आमसभा गरिने बताउनुभयाे ।

प्रधानमन्त्रीले नेकपाका आलोचकलाई मन थामेर बस्न पनि आग्रह गर्नुभयो । ‘हेर्दै जानुस् नेपाल कता जान्छ, हाम्रो समृद्धिको यात्रालाई कसैले रोक्न सक्दैन, हामी गौरवपूर्ण इतिहास भएका वीर पुर्खाका सन्तान हौँ’, ओलीले भन्नुभयो ।

नेकपा सडकमा नउत्रिदा दुई⁄चार हजार मान्छे लिएर आफूलाई लल्कार्ने काम भएको उहाँले बताउनुभयो । ‘हामीले त्यसकारण सडकमा आउनु पर्यो, हामीलाई बाध्य पारियो’, प्रधानमन्त्रीले भन्नुभयो ।

कुनै पनि नाटकबाजका भ्रममा परि तिनका छली कुरामा अल्मलिएर देशलाई बर्बाद पार्नु नहुनेमा उहाँले जोड दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !