पेन्सन र अवकाश दुवै सुविधा
काठमाडौँ — सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकाश दुवै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना रोज्ने नियम थियाे । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५ लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनाइएको हो । कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।
प्रवक्ता पन्थीले भने, यो योजनामा राखिएको रकम आफूले चाहेको समयमा पूरा वा सापटीका रूपमा पनि निकाल्न सकिनेछ । जागिरबाट अलग हुनेबित्तिकै योगदानकर्ताले चाहेमा एकमुष्ट रकम झिक्न पाउनेछन् । जागिरमा छँदै भने उसले ८० प्रतिशतसम्म विशेष सापटीका रूपमा निकाल्न पाउनेछन् । यसअघि ६० वर्षसम्म नपुगेमा झिक्न पाइँदैनथ्यो ।
औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ । निरन्तर योगदान गर्ने श्रमिकले वार्षिक रूपमा औषधीउपचारमा २० हजार रुपैयाँ र अस्पतालमै बसेर उपचार गरेमा ८० हजार रुपैयाँसम्मको सुविधा पाउँछन् ।
पन्थीका अनुसार व्यवसायजन्य रोगका कारण पूर्णरूपमा अशक्त भएमा न्यूनतम तलबको ३ गुणासम्म पेन्सन दिने सुविधा बनाइएकाे छ । यसअघि सरकारले तोकेको आधारभूत न्यूनतम तलबको ३ गुणासम्म नबढ्ने गरी दिने व्यवस्था थियो । कोषमा १३ हजार रोजगारदाताले एक लाख ८९ हजार जनालाई सूचीमा राखेकाे छ ।
-रासस