७ चैत्र २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्ड समूहमा पूर्व एमालेहरूकाे अवस्था नाजुक छ – शेरबहादुर तामाङ

प्रकाशित मिति :  20 February, 2021 8:53 am


काठमाडाैं । ‘उहाँहरू (प्रचण्ड समूह) ले पूर्व एमालेकाे धारलाई छाेडिसक्नु भएकाे छ, एक हिसाबले भन्ने हाे भने उहाँहरूसँग विचार नै नभएकाे देखियाे, त्यसैले मूलधारमै फर्कियाैं’ – पूर्व मन्त्री शेरबहादुर तामाङकाे भनाइ छ ।

फेरि नेकपाकै मूलधारमा फर्कनुकाे कारण  सुनाउँदै नेता तामाङले साे कुरा बताउनु भएकाे हाे । प्रचण्ड समूहमा पूर्व एमाले धारका नेताहरूकाे अवस्था बिजाेग रहेकाे पनि उहाँले बताउनुभयाे ।

पूर्वमन्त्री तामाङ र उहाँकी धर्मपत्नी उषाकला राई आज नेकपाकाे मूलधारमै फर्कनु भएकाे छ । यसकाे औपचारिक घाेषणा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विराटनगरबाट गर्नुहुँदैछ ।

पूर्व एमाले धार जहिलेपनि शान्तिपूर्ण प्रकिया र प्रष्ट विचारमा अडिग रहेपनि प्रचण्ड समूह साे धारलाई समाप्त पार्ने खेलमा लागेकाे नेता तामाङले बताउनुभयाे । प्रचण्ड समूहले एमाले धार समाप्त गरेर शान्तिपूर्ण भन्दापनि हिंसात्मक गतिविधिकाे उद्घाेष गरेपछि साे समूहसँग बस्न नसकेर फर्किएकाे तामाङले बताउनुभयाे ।

पूर्व एमाले धारलाई संकटबाट जाेगाउन र बचाउन आफ्नै घर फर्किएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘हिंसात्मक आन्दाेलबाट हाेइन शान्तिपूर्ण प्रकियाबाट नेपालकाे कम्युनिष्ट आन्दाेलन विकास हुन्छ भन्ने विचारसाथ हिजाे हामीले लाेकप्रिय कम्युनिष्ट एमाले धार बनाएका थियाैं, त्यही धारकै जगमा पूर्व माओवादीसँग एकता भएकाे थियाे, अहिले त्याे धारमा संकट पैदा भएकाे छ, त्यसलाई बचाउनुपर्छ भनेर हामी नेकपा अर्थात केपी ओलीसँगै उभियाैं, प्रचण्ड समूहबाट याे विचारकाे रक्षा हुनै सक्दैन ।’

दुई कम्युनिष्ट पार्टीकाे एकीकरण भएर नेकपा बनेपनि विगतमा आफूहरूले विकास गरेकाे मूलधार, विचार र द‍ृष्टिकाेण संकटमा परेकाे भन्दै उहाँले त्यसकाे रक्षाका लागि मूलधारमै समावेश भएर एक ठाउँ उभिनुकाे विकल्प नभएकाे बताउनुभयाे । प्रचण्ड समूहले पूर्व एमालेको धारलाई छोडेको र उनीहरूको दृष्टिकोण नै फरक बनेकाले मुलधारमै फर्किएकाे उहाँले प्रष्ट पार्नुभयाे ।

प्रचण्ड समूहभित्र निक्कै गाेलमाल अवस्था रहेकाे भन्दै उहाँले विशेषगरी पूर्व एमालेहरूकाे अवस्था नाजुक रहेकाे जानकारी दिनुभयाे । पूर्व एमाले धारका धेरैजसाे नेता कार्यकर्ताले प्रचण्डलाई नेता मान्न नसक्ने अवस्था साे समूहमा देखिएकाे बताउँदै तामाङले आफूहरू पनि त्यसकाे साक्षी रहेकाे सुनाउनुभयाे ।

‘विशेषगरी पूर्व एमाले धारका साथीहरूमा प्रचण्डलाई नेता मान्न सकिँदैन भन्ने मनाेविज्ञान मात्र हाेइन प्रष्टै चित्र देखिन्छ, याे एक दुई जनाकाे कुरा हाेइन व्यापक रूपमा माथिदेखि तलसम्मकै नेता कार्यकर्ताहरू प्रचण्डबाट आजित भएकाे देखिन्छ, हामीलाई पनि कताकता महशुस भयाे, त्यसैले हामी समयमै मूलधारमा फर्कने निर्णयमा पुग्याैं ।’

राजनीतिक परिवर्तनसँगै समाजलाई सही मार्ग दर्शनमा डोर्‍याउने लक्ष्य लिएर अगाडि बढेकाे मूलधारबाट बाहिर बस्दा संकट देखिने अवस्था नआहाेस् भनेर  समृद्धिकाे यात्रामा हातेमालाे गर्न थालिएकाे तामाङले बताउनुभयाे । प्रचण्ड समूह मूलधार नभएर एउटा गुटमात्र भएकाले त्यसबाट समृद्धिकाे कल्पना पनि गर्न नसकिने उहाँले बताउनुभयाे ।

नेकपा कानुनी रूपमा विभाजन नभएकाे पनि तामाङले बताउनुभयाे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग विवाद सुल्झाएर अगाडि बढ्ने विषयमा छलफल भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘प्रधानमन्त्रीसँग पार्टीकाे विवादबारे छलफल गरेर सकेसम्म मिलाएर लैजान सुझाव दिएका छाैं, उहाँ यसमा सकारात्मक देखिनुभएकाे छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !