पर्याप्त खानेपानी र सरसफाईका योजना ल्याउदै स्थानिय सरकार
काठमाडौं । देशका सबै स्थानीय तह अहिले खानेपानीको सुविधा घर घरमा पुर्याउने योजनामा लागि परेका छन् ।
स्मार्ट वास प्रा . लि . ले राजधानीमा आयोजना गरेको कार्यक्रमा वेविनार खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत विज्ञहरुले स्थानीय तहले खानेपानीको सुविधा बारे जानकारी दिनुभएको हो ।
सो कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका डा.रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दीगो विकासका लक्ष्यहरुलाई हासिल गर्ने र राष्ट्रिय कार्यक्रम अनुरुप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिने बताउनुभयो ।
उहाँले नेपालको संविधानले खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको र आफ्नो पालिकाभित्रका हरेक बासिन्दाको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढंगले कार्यक्रम तयार गरिएको बताउनुभयो ।
खानेपानी र सरसफाईको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउने कार्यमा स्थानीय सरकारहरुलाई सक्षम बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासमा कामको थालनी गरिएको छ । यसका लागि विभागले विभिन्न सूचना लिन एक दर्जन एप्स प्रयोगमा ल्याएको छ । यी एप्समार्फत स्थानीय सरकारले आफ्नो सीमानाभित्र हुने सम्पुण अवस्थाको जानकारी लिनेछन् ।
यस संस्थाले खाने पानीको अबस्था, भूमिगत स्रोतको अवस्था, सतही स्रोतले नसमेट्ने स्थानमा लिफ्टिडको संभावना, अन्य जिल्ला वा अन्य पालिकाहरुसंग साझेदारी, आवश्यक जनशक्ति, खानेपानीको गुणस्तर मापनको अवस्था, दीगो र स्थायी समाधानको संभावना, ढल निकास र प्रशोधनको वर्तमान अवस्था र संभावना जस्ता विषयमा सूचना पठाउने छन् र तिनलाई संकलन गरी प्रशोधन गरेर विभागले हरेक पालिकाको खानेपानी तथा सरसफाईको प्रतिवेदन तयार पार्दछ ।
त्यसको आधारमा हरेक स्थानीय सरकारलाई एक दशकभित्र घरमा एक धारा पुर्याउन, पर्याप्त शुद्द पानी उपलब्ध गराउन र विश्वस्तरीय सरसफाई कायम गराउन आवश्यक कार्यक्रम गरी बजेटको अनुमानित लागत तयार पारिनेछ ।
सुरु पनि भैसक्यो
वेविनारमा सहभागी जनप्रतिनिधिहरुले खानेपानी र सरसफाई जीवनको आधार भएकोले आफ्नो पालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।
धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पानीको पर्याप्तता नै जीवन र सुखको आधार भएकोले यसको प्रत्याभूति गर्ने कार्यलाई आफ्नो नेतृत्वले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले एक घर एक घारा अन्तरगत १८ सय घरमा पानी पुर्याइ सकिएको र खानेपानीका क्षेत्रमा हाल विद्यमान र भविष्यमा आइपर्ने समस्या केलाउने,समाधान निकाल्ने, फोहर पानीको प्रशोधन र पुन प्रयोग गर्ने,बर्षाको पानी संकलन गरि प्रशोधन र वितरण गर्ने कार्यहरु भैरहेको पनि बताउनुभयो ।
नेपाल नगरपालिका संघका समेत अध्यक्ष रहनुभएका ब्याञ्जूले संघले सबै नगरपालिकाहरुलाई खानेपानी तथा सरसफाई ऐन निर्माणको लागि उत्प्रेरित गरिरहेका र आयोजनाहरुमा २० करोडदेखि १ अर्ब सम्म संघीय सरकारले अनुदान दिने व्यवस्था गराइएको छ । बिल एण्ड मिलिन्दा फाउण्डेशनको सहयोगमा देशका ५ नगरमा सञ्चालित ढल प्रशोधन आयोजना अरु १० नगरमा लैजाने तयारी भैरहेको बताउनुभयो ।
उहाँले नेपाललाई सन २०३० सम्म सबै नागरिकले शुद्ध खानेपानीे पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवनको इच्छामनकामना गाउँपालिकाकी प्रमुख गीताकुमारी गुरुड.ले आफ्नो पालिकाले आरआरएन र डब्ल्युएचएच नामक गैरसरकारी संस्थाहरुको सहयोगमा घरघुरी र जनसंख्याको गणना गरेर खानेपानीको आयोजनाहरु अगाडि बढाएको बताउनुभयो । उहाँले खानेपानीका मुहानहरुको पहिचान र तिनको संरक्षण गर्दै मुहानदेखि तल्लोभेगमा पानीको आपूर्तिका कार्यक्रमहरु सञ्चालन भएको जानकारी दिंदै मुहानभन्दा माथिल्लो भेगमा रहेका बस्तीमा लिफ्टिड पद्धतिबाट पानी लैजाने र आकाशे पानी संकलन गरेर वितरण गर्ने कार्य गरिएको बताउनुभयो ।
उहाँले आफ्नो पालिकाले आउदा केही बर्षमा सबैकालागि खानेपानी पुर्याउने र त्यसपछि पानीको गुणस्तर अभिवृद्धि र निर्मित संरचनाहरुको मर्मतसंभार र स्तरोन्नतिमा ध्यान दिने बताउनुभयो ।
त्यस्तै सिरहाको धनगढी नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले यूनिसेफको सहयोगमा नगरमा खानेपानीको दीर्घकालीन योजना बनाउने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले दिगो विकास कार्यक्रमले नगरपालिकालाई सन २०३० सम्म थप डेढ अर्ब रुपैया आवश्यकता हुने बताउदै यसका लागी खानेपानी तथा सरसफाई कोष नै स्थापना गरेको बताउनुभयो ।
कमजोरीमा ध्यान
कार्यक्रममा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत ई. हरिप्रसाद शर्माले खानेपानी तथा सरसफाईको क्षेत्रमा देखिएका कमजोरीका बारेमा प्रकाश पार्नुभएको थियो ।
उहाँले खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने विभिन्न तहका प्राविधिकहरुको कमी रहेको, पुराना योजनाहरु पुनस्थापना गर्नुपर्ने अवस्थामा पुगेको, खानेपानी आयोजनाहरुको मर्मत, सभार र सञ्चालनमा वित्तिय स्रोतको अभाव भएको, खानेपानीको गुणस्तर मापन र गुणस्तर कायम राख्न गर्नुपर्ने क्लोलिनेसनको सुविधा सबै ठाँउमा नरहेको जस्ता समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म जम्मा साढे २४ प्रतिशत नेपालीले मात्र शुद्ध खानेपानी पाएका छन् । बाँकी साढे ७५ प्रतिशतलाई १० बर्षमा शुद्ध पानी पुर्याउने कार्य निकै चुनौतिपूर्ण छ ।
उहाँले खानेपानी आयोजना निर्माणमा साझेदारीको मोडल उपयुक्त रहेको बताउदै यसलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो भने ढलप्रशोधनमा निजी क्षेत्रलाई सहभागी गराउन उपयुक्त हुने बताउनुभयो । उहाँले ढल निकास र प्रशोधनको सुविधा नगन्य सरह भएकोले २० प्रतिशत ढलको प्रशोधन हुने अवस्थामा पुर्याउन लगानी पनि ठूलो चाहिने बताउनुभयो ।
स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहको सभापतित्वमा भएको सो वेबिनारमा प्रस्तुत गरिएका कार्यपत्रमाथि पूर्व सचिव ई. सुमन शर्माले टिप्पणी गर्नुभएको थियो । उहाँले खानेपानी र सरसफाईको जिम्मेवारी स्थानीय सरकारले नै लिनुपर्ने बताउदै तिनीहरुलाई स्रोत,साधन,सीप र अनुभवले पूर्ण बनाउने संघीय सरकारका निकाय, गैरसरकारी संस्थाहरुले सघाउनु पर्ने बताउनुभयो । उहाँले दिगो विकास हासिल गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको कार्यक्रम र त्यसैसंग तादात्म्य रहने गरी निर्माण भएको वास कार्यक्रमले आयोजनाहरुमा एकरुपता ल्याउदै सन २०३० सम्म सबै नेपालीलाई पर्याप्त सुरक्षित, स्वच्छ खानेपानी र सरसफाई सेवा पुर्याउन सघाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
स्मार्ट वासकी डाइरेक्टर गिरिजा दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पूर्वमन्त्री गणेश साहले स्वागत मन्तव्य दिनुभएको थियो । उहाँले हरेक स्थानीय निकायलाई पानीको स्रोत संरक्षण र संकलन, प्रशोधन, वितरण र मूल्य निर्धारण जस्ता समग्र पक्षलाई समेटेर ऐन निर्माण गर्न आग्रह गर्नुभयो ।
पूुर्वमन्त्री साहले विद्यालयहरुमा खानेपानी, शौचालयको उचित प्रबन्ध र महिनावारीमा सरसफाई गर्ने सुविधाको अभावका कारण विद्यालयमा छात्राहरुको पढाई छाड्ने प्रवृत्ति रहेकोले त्यसलाई रोक्न पानीको सुविधा आवश्यक रहेको बताउनुभयो ।
स्मार्ट वासका अध्यक्ष ई.रामदीप साहले गर्नुभएको सो कार्यक्रममा हेल्भेटासका प्रतिनिधि डा.भरत पोखरेलले दिगो विकासका लक्ष्यले निर्धारण गरेको सबैका निमित्त शुद्ध पानी पुर्याउन सरकारले ल्याएको रणनीति र कार्यक्रमलाई कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयोे ।
उहाँले नेपालमा अव पानीको पहुँचको कुराबाट गुणस्तरीय पानीको कुरा गर्ने अवस्था आएको बताउनुभयो ।
उक्त्त कार्यक्रम खानेपानी तथा ढल निकास विभाग, नेपाल नगरपालिका संघ, परिवर्तनका मुद्दाहरु ९ एजेण्डा फर चेञ्जका नेपालका सदस्यहरु हेल्भेटास,वाटर एड, केयर तथा वेल्थुङजेरहाइलफ संस्थाको सहयोगमा आयोजना भएको थियो ।
-रासस