२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्याे प्रचण्ड समूहमा योगेश भट्टराईकाे सक्रियता

प्रकाशित मिति :  २२ फाल्गुन २०७७, शनिबार ०७:४४


काठमाडौं । नेकपाको मूलधारबाट प्रचण्ड समूहमा पुग्नु भएका नेकपाका युवा नेता एवं पूर्वमन्त्री योगेश भट्टराईको सो समूहमा सक्रियता घटेको छ ।

प्रचण्ड समूहको आन्दोलन परिचालन समितिका सहसंयोजक बनाइनुभएका भट्टराई पछिल्लो समय सो समूहका महत्वपूर्ण बैठकमा समेत अनुपस्थित हुन लाग्नुभएको छ ।

प्रचण्ड समूहले सांसद् तथा केन्द्रीय सदस्यलाई काठमाडौं उपत्यका नछाड्न दिएको निर्देशनको वेवास्ता गर्दै भट्टराई आफ्नै गृह जिल्लाका आगलागी पीडितको पीडामा दुःख साट्न ताप्लेजुङ पुग्नु भएको छ । सो समूहका सांसद्को शुक्रबारको बैठकमा समेत भट्टराई सहभागी हुनुभएन । सो भेलाबाट पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेकपा संसदीय दलको नेता भएको घोषणा गर्नुभएको थियो ।

प्रचण्डले पार्टी फुटाएर संसदीय दलको नेता भएको घोषणा गरिरहँदा ताप्लेजुङको फुङ्लिङमा भट्टराईले पार्टी एकताको सम्भावना अझै टुटिनसकेको बताउनुभयो । उहाँले शीर्ष नेतामा देखिएको पद लोलुपताको कारण अहिलेको अवस्था आएको बताउनुभयो ।

शीर्ष नेताले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको उहाँले बताउनुभयो । ‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ भट्टराईले भन्नुभयो ।

उहाँले नेकपाको दोस्रो पुस्तालाई नेतृत्व सुम्पिएर समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । पार्टी एकताको लागि केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्नुपर्ने उहाँको सुझाव छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !