२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीको दिग्विजय, सत्ताको साँचो ओलीकै हातमा

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार ११:१७


काठमाडौं । सत्ताको खेलले विचित्र मोड लिएको छ । विवादै विवाद बीच लगभग चिहानमा पुग्न लागेको नेकपाको मरण भएको छ । नेकपाको शवबाट तत्कालीन एमाले र माओवादीको पुर्नजन्म भएको छ । दुई पार्टी पुनर्जिवित भएसँगै सत्ताको खेलले पनि अब गणितीय बन्ने भएको छ ।

एमालेसँग १२१ जना सांसद् छन् । ती मध्ये कतिपय सांसद् प्रचण्ड पक्षमा लागेका छन् । माधव नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका प्रचण्ड पक्षीय सांसद्हरु अब एमालेका सांसद् बनेका छन् । एमाले केन्द्रीय समिति र संसदीय दलमा केपी शर्मा ओलीको पूरै बहुमत छ । अब माधव झलनाथहरुले प्रतिनिधि सभामा त्यता भोट हाल्नुपर्नेछ, जता ओलीले व्हीप जारी गर्नुहुनेछ ।

कि एमालेतिर लाग्ने कि व्हीप उल्लंघन गर्ने बाहेकको उपाय माधव झलनाथहरुसँग छैन । एमाले फुटाउन पुग्ने सांसद् संख्या पनि माधव झलनाथहरुसँग छैन । अर्थात्, अदालतको यो फैसलाले माधव झलनाथहरुलाई ठूलो अप्ठेरोमा पारिदिएको छ । ओलीले जारी गर्नुहुने व्हीप उल्लंघन गरेको अवस्थामा माधव झलनाथहरुको सांसद् पद नै गुम्न सक्छ ।

माओवादी केन्द्रसँग ५३ जना सांसद् छन् । तीमध्ये केही केपी ओलीतिर लागेका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका सांसद्ले अब ओलीको नभएर प्रचण्डको व्हीप मान्नुपर्ने भएको छ । प्रचण्डको व्हीप उल्लंघन गरेको अवस्थामा उहाँहरुको पनि सांसद् पद गुम्न सक्छ । प्रचण्डको पार्टीमा बादल, लेखराज र टोपबहादुरसँग त्यति संख्या छैन जतिले पार्टी फुटाउन सकिन्छ ।

एमाले र माओवादी पुनर्जिवित भएसँगै सूर्य चिन्ह मात्र नभएर सत्ताको साँचो पनि केपी ओलीको हातमा आएको छ । संसदीय गणित अनुसार एमाले बिना अन्य पार्टीले सरकार बनाउन सजिलो छैन । एमालेलाई बाहिर राखेर सरकार बनाउने हो भने कांग्रेसका ६३, माओवादी केन्द्रका ५३ र जसपाका ३३ जना सांसद् एक ठाउँ आउनुपर्छ । यी तीन पार्टी मिल्दा १४९ सांसद् हुन्छ । सरकार बनाउन १३८ जना सांसद् चाहिन्छ ।

कांग्रेस र माओवादी दुई पार्टी मात्र मिल्दा सरकार बनाउने संख्या पुग्दैन । दुई पार्टीको ११६ सांसद् छन् । यो अवस्थामा कांग्रेस र माओवादीले एमालेसँग मिल्नैपर्ने हुन्छ । एमालेसँग नमिलेको अवस्थामा जसपाका ३३ सांसद्लाई साथ लिनुपर्ने हुन्छ ।

अर्थात्, एमाले बिना अरुले सरकार बनाउन अब सजिलो छैन । एमालेले कांग्रेस र जसपा जसलाई साथ लिएपनि सरकार बन्छ । सत्ताको विचित्र खेलमा एमालेले भविष्यमा माओवादीको पनि साथ लिँदैन भन्न सकिँदैन ।

नेपाली राजनीतिमा केपी ओलीको हात माथि रहँदै आएको थियो । सर्वाेच्चको यो अपूर्व फैसलापछि केपी ओली सहित पुर्नजिवित एमालेको दिग्विजय भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !