३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कामपाका कर्मचारी समायोजनमा

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार ०७:०६


काठमाडौँ । महानगरपालिकामा कार्यरत एक हजार पाँच सय ५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ ।

यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ ।

समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ’, प्रमुख शाक्यले भन्नुभयो ।

आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राख्नुभयो ।

यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक तीस लाख पचास हजार रुपैयाआर्थिक दायित्व थपिने छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !