२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म छाड्दिन, लड्छु– प्रचण्ड

प्रकाशित मिति :  २७ फाल्गुन २०७७, बिहीबार ०९:०५


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले राजनीति नछाड्ने हुनुभएको छ । उहाँले राजनीति नछाड्ने, अझै लड्ने घोषणा गर्नुभएको हो ।

उहाँले जनयुद्धकालीन भाषा बोल्दै अरु धेरै ब्याटल लड्न आवश्यक भएको बताउनुभएको छ । उहाँले अब पूर्व जनमुक्ति सेनाको कदर गरिने, उनीहरुलाई पार्टीको राष्ट्रिय भेलामा बोलाइने पनि जानकारी दिनुभएको छ ।

‘म ६६–६७ वर्षको भएँ, उमेरले अब छाड्नुपर्छ भन्दैछन् । तर, म छाड्नेवाला छुइन, म लड्नेवाला छु । अरु दुईचारवटा ब्याटल जित्न बाँकी छ’– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले केही चिज लेख्नुपर्ने, केही चिज कहिँ पुराउनुपर्ने भएकाले आफू व्यस्त भएको उहाँले बताउनुभयो । तर, के लेखेको हो र पुराउनुपर्ने कहाँ हो भन्ने उहाँले खुलाउनुभएन ।

जनयुद्धकालमा छापामारहरुसँगै खटिएका स्वास्थ्यकर्मीहरुको कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेना र जनयुद्धको फर्मेशनमा स्वास्थ्यकर्मीहरु पनि रहेको स्मरण गर्दै भन्नुभयो– ‘तपाईंहरुले जनयुद्धमा धेरै योगदान गर्नुभएको छ, युगान्तकारी भूमिका खेलेकै हो ।’

शान्ति प्रकृयामा आएपछि डिभिजन, ब्रिगेड, बटालियन र प्लाटुनमा रहेकाहरुलाई पार्टी कमिटीमा ल्याइएको प्रचण्डले बताउनुभयो । शान्ति प्रक्रियापछि कोही कहाँ पुग्नुपर्ने, कोही बेसहारा हुने, कोही खाडी मुलुकमा पुग्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

माओवादी केन्द्रको अब बस्ने राष्ट्रिय भेलामा विगत जनमुक्ति सेनालाई पनि प्रतिनिधित्व गराइने प्रचण्डले जानकारी दिनुभयो । जनमुक्ति सेनासँगै फर्मेशनमा रहेर काम गरेकाहरुलाई अब माओवादी केन्द्रले प्रमाणपत्र दिने पनि प्रचण्डले बताउनुभयो ।

‘नयाँ साथी बनाउ, पूरानोलाई पनि कायम राख । नयाँ चाँदी हो, पूरानो सुन हो भन्ने गीत म गाउँथें’– प्रचण्डले भन्नुभयो । सो गीत आफूलाई एकजना विदेशीले सिकाएको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो– ‘खाडी मुलुकमा कठिन अवस्थामा काम गरेका पूर्व जनमुक्ति सेनाका साथीहरुसँग कुराकानी भयो । उहाँहरुले मलाई धेरै भावुक बनाउनुभयो । उहाँहरुले भन्नुभयो– प्रचण्ड हाम्रो नेता हो । केही गर्न पर्‍याे, लड्न पर्‍याे, मर्न पर्‍याे  भने सबै छाडेर आउँछौं भन्नुभएको छ ।’

उहाँले अगाडि भन्नुभयो– ‘साथीहरुले फेरि पनि लड्न पर्छ भने कासन चाहियो, कमाण्डिङ चाहियो भन्नुभएको छ ।’
परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको भन्दै प्रचण्डले केपी शर्मा ओली विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा फेरि अर्काे जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको दावी गर्नुभयो ।

युद्ध भनेको हिँसा सहितको राजनीति हो भन्दै प्रचण्डले अहिले ठूलो षडयन्त्र भइरहेको दावी गर्नुभयो । अब आफू काठमाडौं धेरै नबस्ने, बाहिर जिल्लामा बसेर संगठन गर्ने पनि प्रचण्डले दावी गर्नुभयो ।

‘कसैलाई मैले केही गरेन भन्ने आरोप नलगाउनुस्’– प्रचण्डले भन्नुभयो । उहाँले जनमुक्ति सेनामा लागेकाहरुलाई उपराष्ट्रपति, सभामुख, मन्त्री बनाएको बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !