१२ चैत्र २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुट भेला गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ७ चैत्र २०७७, शनिबार ०८:१८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्देशन विपरित गुट भेला गर्नेलाई कारबाही हुने बताउनुभएको छ ।

शनिबार पार्टी संसदीय दलको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गुट भेला गर्नेहरु आत्मालोचना गर्दै सच्चिएर आए सोच्न सकिने नत्र कारबाहीको प्रक्रिया अघि बढ्ने बताउनुभयो । ‘निर्लज्जता पूर्वक कम्युनिष्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई स्पष्टिकरण सोधिनेछ’, बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आफू र पार्टी महासचिवले नगर्न निर्देश गर्दा गर्दै गरिएको भेलाको प्रधानमन्त्रीले निन्दा गर्नुभयो । प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी माधव नेपालले गुटको भेला गरेर राष्ट्रिय भेलाको नाम दिएको ओलीको भनाइ छ ।

सो गुट भेलाले नेतृत्वलाई खुइल्याउने तथा पार्टी र सरकारको बदनाम गराउने काम गरेको उहाँले बताउनुभयो । यस विषयमा अब स्पष्टिकरणको प्रक्रिया अगाडि बढ्ने उहाँले बैठकलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले संसदीय दलको नेताको हैसियतले नेता वामदेव गौतमलाई स्वागत पनि गर्नुभयो । गौतमले अराजक र गुटबाजहरुलाई समेटेर पार्टी एकता गर्न खोजे पनि सम्भव नभएको भन्दै उहाँको प्रयासको प्रशंसा गर्नुभयो । ‘सायद थाक्नु भयो, अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुस्’, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई छुट्याई १५ दिन भित्र नयाँ नाममा पार्टी एकता गर्ने चाहे गर्नको लागि दिएको म्यादको विषयमा भेटेर सल्लाह गरौँ भनेर आफूले प्रचण्डलाई फोन गरेको उहाँले प्रष्ट पार्नुभयो । प्रचण्डले बैठकमा छु सकेर कल गर्छु भन्नुभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो  । बाहिर मिडियामा ठूलो दम्भका साथ त्यसको प्रचार गरिएको ओलीले बताउनुभयो ।

सरकारले सदनमा बिजनेश दिएन भन्ने कुरा गलत भएको उहाँको भनाइ छ । छलफलका लागि अध्यादेश र विधेयक प्रसस्तै पठाएको उहाँले जानकारी दिनुभयो ।

सभामुख सरकार बिरोधी सेटिङमा चलेको र सरकार बिरुद्ध प्रयोग गर्न सिपालु रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । संविधान कार्यान्वयन गराउने दायित्व सभामुख र मुद्दा लडेर आउनेको पनि भएको उहाँको भनाइ छ ।

आफ्नो राजिनामा माग्नेलाई अविश्वास प्रस्ताव ल्याएर देखाउन उहाँले चुनौती दिनुभयो । सरकारको विरुद्ध अविश्वास प्रस्ताव ल्याउने आँट कसैको नभएको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले केपी ओली रहेसम्म पार्टी, झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । ‘मलाई त अध्यक्षबाट हटाए, पार्टी बाटै हटाए, धन्न नागरिकता हटाएनन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आजको संसदीय दलको बैठकमा पनि माधव गुटका सांसद्हरु उपस्थित भएनन् । उनीहरुले यस अघिको बैठका पनि वहिष्कार गरेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !