२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कतिपयले साथ छाडे पनि, धोका दिए पनि विचलित भएको छुइन– माधव नेपाल

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ११:१५


काठमाडौं । के हामी केपी ओलीको टाङ मुनि छिर्ने हो ? माधवकुमार नेपालले प्रश्न गर्नुभयो । कार्यक्रममा उपस्थित अखिलका कार्यकर्ताले हल्ला गर्दै भने– होइन ।

माधवले सोध्नुभयो– ‘हामी घुँडा टेक्ने बाटोमा जाने हो ?’ जवाफ आयो होइन ।

आफ्नो गुटले आज राजधानीमा आयोजना गरेको अखिल भेलामा बोल्दै एमाले नेता माधव नेपालले भन्नुभयो– ‘हामी डराएका छैनौं । कथित स्पष्टिकरणबाट तर्सिएका छैनौं । आतंकित भएका छैनौं । आत्मसमर्पण हामीलाई किमार्थ मञ्जुर छैन ।’

उहाँले भन्नुभयो– ‘हिम्मत छ निकाल्ने ? हामी लत्रेका छैनौं पत्रकार साथीहरु । नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हो, सीमाले हो, उनले यो पार्टी छाडेर गए हुन्छ ।’

‘माधव नेपाल कहिले अलमलमा पर्दैन’– माधवले भन्नुभयो– ‘केपी ओलीसँग लड्नु ठूलो र गाह्रो कुरा होइन । यिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दा मात्र हो । प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिएपछि केपी ओली प्रवृत्तिको हावा खुस्किने छ ।‘

एकजना कमरेडले रातभरी निद्रा नलागेको सुनाएको भन्दै माधवले भन्नुभयो– ‘मलाई त रातभरी आनन्दसँग निद्रा लाग्छ ।’

उहाँले यो पनि भन्नुभयो– ‘पत्रकारहरुले मलाई बुझेकै रहेनछन् ।’ अर्काे एक प्रसंगमा उहाँले भन्नुभयो– ‘मेरो पनाती हुने बेला भइसक्यो तैपनि म आफूलाई युवा नै ठान्छु ।’

कतिपयले आफ्नो साथ छाडे पनि, धोका दिए पनि आफू विचलित नभएको दावी नेता नेपालले गर्नुभयो । एकजना साथीले आफूलाई स्टेजमा बस्दा अनुहार उज्यालो गर्नु भनेर सुझाव दिएको पनि माधवले सुनाउनुभयो ।

आफूहरुले पार्टी नफुटाउने, केपी ओलीले नै फुटाउने दावी गर्दै माधवले भन्नुभयो– ‘केपी ओलीको भ्रमबाट हामीले जनतालाई र कार्यकर्तालाई मुक्त गर्नुपर्छ ।’ एमाले हामी हौं, जबज हामी हौं भनेर केपी ओलीले प्रचार गरिरहनुभएको भन्दै माधव नेपालले सोध्नुभयो– ‘केपी ओली र जबजको कहिले भेट भयो ?’

जबजले बहुमतको निर्णय मान्नुभन्छ भन्दै माधवले भन्नुभयो– ‘केपी ओलीले बहुमत मान्नुभएको छैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !