२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

प्रकाशित मिति :  ११ चैत्र २०७७, बुधबार १०:३३


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुरु गरेको छ ।

०७६ साउन मसान्तसम्म संकलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया सुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि सुरु भएको छ । अहिलेसम्म एक सय पाँच जनाले परिचयपत्र लगिसकेका छन् ।’

शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उहाँले बताउनुभयो । ‘शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ’, उहाँले भन्नुभयो ।

सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उहाँको भनाइ छ ।

छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण संकलन गराइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण संकलन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार चार सय ७१ जनाले विवरण दर्ता गरेका छन् । ०७६ असार १९ गतेबाट विवरण संकलन सुरु भएको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !