माधवको काम, केपी बदनाम, प्रचण्ड गुमनाम
काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकाल नामका एक बिचौलिया नेताको सक्रियतामा भएको एशिया प्यासिफिक सम्मेलनले नेकपाका नेताहरुलाई बद्नामीको ठूलै भारी बोकाएको छ ।
रोचक के भने युनिभर्सल पीस फेडेरेशन नामक संस्थाको आयोजनामा भएको सम्मेलनको पृष्ठभूमीका मुख्य हर्ताकर्ता भने नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल थिए । नेता नेपालकै अग्रसरतामा र आग्रहमा सरकार एशिया प्यासिफिक सम्मेलनमा सहभागी भएको थियो ।
यसरी सम्मेलनका अगुवा बरिष्ठ नेता नेपालको नाम चम्किरहँदाका बखत उनकै सल्लाहमा चलेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको भने लिनुसम्मको हुर्मत लिइएको छ । जबकी प्रधानमन्त्री ओलीले सम्मेलन उद्घाटन गर्दा नेपाल ऋषिमुनिहरुको देश भन्दै नेपाली मौलिक परम्पराको वकालत गरेका थिए ।
सम्मेलनलाई लिएर प्रधानमन्त्री ओलीको खेदो खन्ने काम भइरहँदा आयोजक माधव नेपाल भने रमिते बन्दै थपडी बजाईरहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने फड्के किनारामा लाग्दै गुमनाम छन् ।
जवकी सम्मेलनमा प्रधानमन्त्री ओलीले पाए जस्तै सम्मान तीन महिना अघि सोही संस्थाबाट प्रचण्डले थापेका थिए । अझ रमाइलो केछ भने प्रधानमन्त्री ओलीलाई खुइल्याउन नेकपाभित्र माधव र प्रचण्ड निकटस्थहरुको एउटा डफ्फा नै लागिपरेको देखिएको छ ।
क्रिश्चियन मिसनरी युनिभर्सल पीस फेडेरेशनका संस्थापक दक्षिण कोरियाली नागरिक सुन म्युङ मुन हुन् । युनिफिकेसन चर्चको संस्थापकका रुपमा मुन जति चर्चामा थिए, त्यो भन्दा बढी बिवादमा थिए ।
राष्ट्रपति तथा राज्यका उच्च ओहोदामा पुगेका ब्यक्तिहरुले बाइबल शिरमा राखेर सपथ लिनुपर्ने क्रिश्चियनहरुको देश अमेरिकामा १८ महिना जेल सजाय भोगेका, जासुसको आरोपमा उत्तर कोरियामा ५ वर्ष थुनिएका, क्रिश्चियन धर्मको बदनाम गराएको, दुरुपयोग गरेको आरोपमा बेलायत, जापान प्रवेशमा प्रतिबन्ध लागेका ब्यक्ति हुन्, मुन । तिनै मुनको संस्थाले नेपालमा भने सरकार र बरिष्ठ नेताहरुलाई नै फनफनी घुमाई दियो ।
त्यति मात्र होइन मुनकी श्रीमती हाक जा हान मुनले मंसिर १६ गते प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशीसहितको ‘गुड गभर्नेन्स अवार्ड’ दिएकी थिईन् । उनले कोरियाली भाषामा लामो सम्बोधन समेत गरेकी थिईन् ।
सम्बोधनमा उनले पटक–पटक आफूलाई जिसस क्राइष्टकी एकमात्र सच्चा छोरी भनेर चिनाएकी थिईन् । उनले कतिसम्म भनेकी थिइन भने ‘म मार्फत आशिर्वाद नलिए कोही पनि ईश्वरमा समाहित हुन सक्तैन ।’ त्यसैदिन क्रिश्चियन मिसनरीको यो संस्थाले सयौं जोडीहरुको रक्त शुद्धि गर्ने भन्दै होली वाइन (पवित्र रक्सी) समेत पिलाएको थियो ।
उक्त होली वाईनमा मुनको शुक्रकिटको अंश हालिएको बताईन्छ । यहाँ स्मरणीय केछ भने रक्सी पिलाएका बखत माधव नेपाल त्यहीं उपस्थित थिए । नेपाल तिनै नेता हुन् जसले आफू एमालेको महासचिव हुँदा रक्सी खाएको भन्दै धेरै एमाले नेता तथा कार्यकर्तामाथि कारवाही गरेका थिए ।
अहिलेपनि पूर्व एमालेका नेता कार्यकर्ता रङ्गिन पार्टीमासमेत नेता नेपालका अगाडि गिलास समाउने आँट गर्न सक्दैनन् ।
नेपाल विश्वमै धार्मिक रुपमा एकदमै सहिष्णु देशको सूचीमा पर्छ ।
हजारौं वर्ष पहिले नेपाली भूमी हिमालयको काखमा ऋषिमुनीहरुले त्याग, तपस्या गरेर ऋग्वेद लेखेका थिए । जो सबैभन्दा पुरानो धर्मग्रन्थ हो । योग साधना सिकाएका थिए । पश्चिमाहरुले अहिले त्यही योगलाई अनुशरण गरिरहेका छन् । संस्कृतको महत्व बुझेपछि विश्वका कैयन विश्वविद्यालयहरुमा यस भाषाको अध्ययन/अध्यापन शुरुभएको छ ।
अमेरिका, जर्मन, जापान, चीनका विश्वविद्यालयहरुले संस्कृत भाषा पढाउन थालेका छन् । नागरिकले जुनसुकै धर्म अँगाल्न पाउँछन् । तर, राज्यको कुनै धर्म हुनुहुन्न भन्ने खोचे थापेर अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरियो । जबकि ०६२/०६३ को जनआन्दोलन र त्यसपछिका दिनहरुमा पनि धर्म निरपेक्षताको आवाज कहीं कतै उठेको थिएन ।
खासगरी क्रिश्चियन मिसनरीहरुकै दवावमा धर्मनिरपेक्ष घोषणा गरिएको थियो । विश्वमा नेपाल मात्र एउटा यस्तो देश हो, जहाँ ०६८ सालको जनगणनाअनुसार ८४ प्रतिशत जनता हिन्दु धर्म मान्नेहरु छन् ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमी यहीं छ । अल्पसंख्यक मुस्लिमहरुलाई मक्का मदिना जानसमेत राज्यले खर्च ब्यहोरी रहेको छ । हिन्दू, बुद्धका मठ मन्दिरहरु एकै ठाउँमा छन् ।सँगसँगै ती मठ, मन्दिरमा पूजाआजा गरिन्छ ।
यति धेरै सदभावपूर्ण भूमीमा पछिल्ला वर्षहरुमा क्रिश्चियनहरुले भने जवर्जस्ती गरिरहेका छन् । उनीहरुले धार्मिक सद्भाव खल्बल्याउन हिन्दूहरुलाई ‘शैतानका सन्तान’ भन्ने गरेका छन् । बरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी भन्छन्, ‘प्रधानमन्त्री, मन्त्री, सांसदको सपथ इश्वरको नाममा लिन हिच्किचाहट हुने, यता युनिफिकेसन चर्चको तर्फबाट आयोजित कार्यक्रममा सहर्षरुपमा सामेल र सक्रिय हुने र यसमा अन्तरबिरोध नदेखिए के कुरामा चाहिं देखिने होला ?’
बिडम्वना के भने राज्यले कुनै एक धर्मको पक्षधरता लिन हुँदैन भनेर नारा पनि लगाउने अनि सरकारकै संरक्षण, सत्कारमा मिसनरीहरुको पक्षपोषण गर्ने काम भइरहेको छ । त्यसमा नेकपा नेतृत्वको सरकार र बरिष्ठ नेताहरुनै संलग्न हुनु झन् बिडम्वना हो ।
नेकपाका युवा नेता घनश्याम भुषालले भनेका छन्, ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’ नेकपाको सरकारले मुलुकलाई त्यही बाटोमा धकेलिरहेको छ ।
नेकपाकै अर्का नेता भीम रावल लेख्छन्–‘कुनै ब्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्याे । शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो ? जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।’
नेकपाकै एकथरी नेताहरुले सम्मेलन र त्यसका नाममा भइरहेको स्वार्थपूर्तिको बिरोध गरिरहँदा बरिष्ठ नेता माधव नेपाल भने अतिथिहरुको स्वागत गर्न ब्यस्त थिए । नेता नेपाल बिदेश घुम्न भनेपछि हुरुक्कै हुने नेतामा पर्छन् ।
क्रिश्चियन मिसनरीहरुले यस संस्थाले नेपाललाई एक दर्जन बढी देशमा घुमाइसकेको छ । आफूलाई पटक–पटक बिदेश घुमाएको गुन तिर्नकै लागि उनी पृष्ठभूमिमा मुख्य संरक्षक बनेका जानकारहरु बताउँछन् ।
नेकपाका एक केन्द्रीय सदस्य भन्छन्‘माधव नेपालका कारण केपी ओली र सरकारको हुर्मत लिइयो । हुनुसम्म बदनामी भयो ।’
रोचक के भने यत्रो तामझाममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कतै देखिएनन् । गुमनाम किनारामा बसेर रमितालाई नियाले मात्र ।
काठमाडौंमा मिसनरीहरुको कार्यक्रम भइरहँदा प्रचण्ड भने ललितपुर नख्खुस्थित उपेन्द्र महतो लगानीको मेडिसिटी अस्पतालमा स्वास्थ्य चेकजाँचमा पुगेका थिए । पछिल्ला दिनमा प्रचण्डको स्वास्थ्य गढबढ बनिरहेको उनी निकटहरुबताउँछन् । कतिसम्म भने प्रचण्ड युनिफिकेसन चर्चको कार्यक्रममा सहभागी भएको समेत देखिएन ।
विगतमा मठ, मन्दिर, मस्जिदहरु भत्काउँदै हिँडेकाले क्रिश्चियन मिसनरीहरुको कार्यक्रममा सहभागी हुँदा आलोचनाको तारोमा पर्ने सुँइको पाएर प्रचण्ड रमिते मात्र बनेका उनी निकट एक केन्द्रीय सदस्य बताउँछन् ।
भन्छन्, ‘अध्यक्ष प्रचण्डलाई आफैंले पुरस्कार थापेको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अप्ठ्यारो थियो । प्रकाश खबर डटकमले आफ्नो विश्लेषणमा लेखेको छ त्यसैले फड्के किनारामा बसेरै उहाँले कार्यक्रमलाई नियाल्नु भयो ।’