२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अराजक गुटलाई पार्टीबाट निकाल्नुपर्छ : सत्यनारायण मण्डल

प्रकाशित मिति :  १३ चैत्र २०७७, शुक्रबार ०४:१७


काठमाडौं । सत्यनारायण मण्डल नेकपा एमाले प्रदेश २ को इञ्चार्ज हुनुहुन्छ । मधेशबाटै नेतृत्व गर्ने नेतालाई प्रदेश इञ्चार्ज बनाएर नेकपा एमालेले धेरै पछि मधेश माथि न्याय गरेको छ ।

तराई मधेशमा कम्युनिष्टको मत अहिले पनि त्यति बलियो छैन । विगतको तुलनामा केपी ओलीले नेतृत्व गरेपछि मधेशमा नेकपा एमालेको अवस्था निक्कै सुधार भयो । विगतमा कम्युनिष्ट नेताको तराई मधेशलाई हेर्ने सही दृष्टिकोण नभएकै कारण कम्युनिष्टले मधेशको मन जित्न सकेन ।

मधेश प्रतिको केपी ओलीको प्रष्ट दृष्टिकोण र मधेश केन्द्रीत विकासले उहाँ र उहाँको पार्टी प्रति अहिले तराई मधेशको क्रेज बढेको छ । तथापि नेकपा विभाजन भएपछि त्यसको प्रभाव देशभरि जस्तै तराई मधेशमा पर्नु पनि स्वभाविक नै हो ।

पार्टी माथि परेको संकट, विभाजन र विवादको बेलामा मण्डलले तराई मधेश समेटिएको प्रदेश २ को पार्टी इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । यो जिम्मेवारीलाई अब उहाँले कसरी अगाडि बढाउनु हुन्छ ? समग्र देशको राजनीतिलाई कसरी हेरिहनु भएको छ । यसै विषयमा केन्द्रीत रहेर सनसराइज खबरसँग मण्डलले टेलिफोनमा कुराकानी गर्नुभएको छ । उहाँसँग भएको कुराकानीको सम्पादित अंश :

यहाँ प्रदेश २ को एमाले पार्टी इञ्चार्ज हुनुभएको छ, प्रदेश २ को पार्टीको अवस्था के छ अहिले ?

प्रदेश २ पनि राष्ट्रिय राजनीतिबाट अलग हुने कुरा भएन । मैले दुईचार वर्ष पहिलेदेखि नै कुरा उठाउँदै आएको थिएँ कि प्रदेश २ लाई प्रयोगशाला नबनाउनुस् भनेर । तर पार्टीमा गुटबन्दी गर्नेहरुले त्यसलाई प्रयोगशाला बनाए ।

अहिले पनि जुन गुट छ, त्यसले नाङ्गो रुपले पार्टीको अनुशासनलाई ठाडै उल्लङ्घन गरेको छ । माधव नेपालको गुटले प्रदेश सभामा सार्वजनिक लेखा समितिको सभापतिमा पार्टी निर्णय विपरित उम्मेदवार बनाएर समितिलाई नै अस्तव्यस्त बनाएको अवस्था छ । प्रदेशमा सार्वजनिक लेखा समिति बन्न सकेको छैन ।

प्रदेश २ मा आफ्नै सांसद्बाट हाम्रा सांसद्हरु असुरक्षित हुने अवस्था आयो । जसले सम्झाउन बुझाउन खोज्यो उसैले कुटाइखाने अवस्था बन्यो । यो सबै माधव गुटको अराजकताको कारणले हो ।

यो अराजकताको अन्त्य गर्न के गर्नु पर्छ त ?

माधव नेपाल लगायतलाई केन्द्रीय कमिटी बाटै स्पष्टिकरण सोधिएको छ । त्यसमा उहाँहरुले चित्तबुझ्दो स्पष्टिकरण दिनुभएको छैन । चित्त बुझ्दो स्पपष्टिकरण नदिने अराजकलाई कम्युनिष्ट भन्न मिल्दैन । यिनीहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्नु पर्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनले यत्रो ठूलो क्षति त व्यहोरिसक्यो भने अब किन डराउने । जनताको बीचमा यसरी यिनीहरुले पार्टीलाई बदनाम गराए, यो कुनै विपक्षीले गराएको होइन । यत्रो ठूलो आन्दोलनलाई नै घाटा गराउने काम यिनीहरुबाट भएको छ ।

गल्तीलाई स्वीकारेर अब यस्तो गल्ती हुँदैन भनेर आउँछन् भने त्यसलाई स्वीकार्न सकिएला । जसले यी कुरा स्वीकार्दैनन् यिनीहरुलाई जति क्षति हुनु भइसक्यो, अब माया गरेर हुँदैन ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई नै यिनीहरुले क्षति पुर्याएका छन् । मेरो विचारमा यिनीहरुलाई साथमा लिएर जान गाह्रो छ ।

संसारमा कम्युनिष्ट आन्दोलन ओरालो लागेको अवस्थामा केपी ओलीले नेतृत्व लिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउनुभयो । नेपालमा कम्युनिष्ट आन्दोलन सगरमाथा तर्फ उक्लिरहेको अवस्थामा प्रतिक्रियावादीलाई सैह्य भएन । त्यसमा हाम्रा नेताहरु मतियार भए ।

अब नेपाली जनता पनि त्यति कमजोर छैनन् । ठीक र गलत राम्रोसँग बुझ्न सक्ने भएका छन् । यिनीहरुको चरित्र नेपाली जनताले बुझेका छन् ।

अहिलेको सवाल एमालेको मात्र होइन । यो राष्ट्रको सवाल हो । राष्ट्रलाई विघटन गर्ने र अन्त कतै विलय गराउने अधिकार यी पापीहरुलाई नेपाली जनताले दिएका छैनन् । आफूखुसी दलाली गरुन्, जेसुकै गरुन्, त्यो मतलब छैन, तर देश र जनता विरुद्ध लाग्ने अधिकार कसैलाई छैन ।

उहाँहरुको जुनखालको अभिव्यक्ति आयो, स्पष्टिकरण आयो, त्यसले सुध्रिएर आउने छाँट त देखिएन, यसले पार्टीलाई दीघकालीन रुपमा कस्तो प्रभाव पार्छ ?

छैन, छैन, यिनीहरु सुध्रिएर आउने छाँट छैन । गुट र स्वार्थको कारणले पार्टीमा वेथिति मौलायो ।

अनुशासन विधि र विधानलाई माधव नेपालले जीवनमा कहिल्यै मान्दै मानेनन् । माधव नेपाल केपी ओलीलाई हिटलर भन्दै हुनुहुन्छ हिटलरको पनि बाबु महाहिटलर त माधव नेपाल हो ।
घोर मधेश विरोधी मान्छे माधव नेपाल हो । प्रयोगशाला बनाइदियो मधेशलाई । यो हाम्रो दुर्भाग्य हो । मधेशमा भारतको लगानी छ, कतिपय मधेश केन्द्रीत दल भारतबाट सञ्चालित छन् । माधव नेपाल समेत नेपाल भारतमा विलय भयो भने खुसी हुने मान्छे हो ।

माधव नेपाललाई घोर मधेश विरोधी भनिरहँदा त्यसका आधार के छन् त ?

किन छैनन् ? कति छन् कति । आजसम्म कुनचाहीँ मधेशको नेतालाई माधव नेपालले अघि बढ्न दिएको छ ? संघीयता आयो, त्यो अनुसार पार्टी संगठन बनाउनु पर्यो नि त । तर खै माधव नेपालले त्यसको लागि बोलेको ? स्थायी कमिटीमा सबैभन्दा पहिला यो प्रस्ताव आउँदा माधव नेपाल समय लिएर बोल्नुहुन्छ तर मधेशको इञ्चाज पनि पहाडियालाई दिने प्रस्ताव राख्नुहुन्छ ।

मेरो जन्मथलो रौतहट हो भनेर कोही मधेश जाँदा उहाँसँग भिसा लिएर जानुपर्ने ? उहाँले रौतहट वा प्रदेश २ बाट कुनै मधेशी कोखमा जन्मिएको छोरा⁄छोरीलाई कहिल्यै माथि उठाउने काम गर्नुभयो ?

२०५४ सालमा माधव नेपाल अञ्चल इञ्चार्ज हुँदा मलाई पार्टीले जिल्ला सचिवमा सिफारिस गर्दा उहाँले रोक्नु भयो । पहाडे मूलका माधव नेपालका हनुमानहरुको सिफारिसमा मेरो नाम काटियो ।

यो त एउटा उदाहरण मात्र हो, माधव नेपालका एक एक घटना मधेश विरोधी छन् । त्यसैले उहाँले नेतृत्व गरुन्जेल मधेशमा हाम्रो संगठन कमजोर भयो । उहाँको पालमा कतिजना पोलिटब्युरो भए ? कतिजना स्थायी कमिटी भए सोध्नुस् उहाँलाई । कुनै विचारक नेता हो र, माधव नेपाल ? उहाँको आफ्नो कुनै स्वतन्त्र विचार छ र ?

यस्तो अवस्थामा अब प्रदेश २ मा पार्टीलाई कसरी अघि बढाउनुहुन्छ ?

अब कुरा स्पष्ट छ, आफ्नो कमी कमजोरी सुधारेर पार्टीलाई मानेर आयो, गुटलाई होइन भने ठिक छ । किन भने ती माधव र प्रचण्डले केपी ओलीलाई कारबाही गरेर जगत हँसाए । केपी ओलीसँग चुनाव हारेका माधव नेपाल सडकमा पुगेर पार्टी अध्यक्ष बन्नुभयो । त्यो कुरालाई समर्थन गर्ने उहाँका मतियारहरु छन् । तिनीहरुले आफूलाई करेक्सन गर्दैनन् भने पार्टीमा स्थान हुँदैन ।

दुईचार जना मान्छे नहुँदा हामीलाई केही फरक पर्दैन । आफूलाई करेक्सन गरेर आए भने सोचौँला । अन्यथा माधव नेपालको त भविष्य छैन नै, अब उहाँका अनुचरहरुको पनि भविष्य छैन । जो सुधारेर आउँछ, त्यसलाई हामी अंकमाल गरेर जिम्मेवारी दिएर अघि बढाउँछौँ ।

प्रदेश २ मा पार्टी संगठनलाई अघि बढाउने अवसर के के छन्, चुनौती के के  छन् त ?

जनतामा एमालेको राम्रो छाप परेको छ । मैले आठ वटै जिल्लामा सभाहरु गरेँ । युवाको आकर्षण बढेको छ । पहिलाको भन्दा धेरै परिवर्तनको महशुस भएको छ । यो धेरै सकारात्मक हो ।

तर हाम्रो पार्टी भित्रको खुट्टा तान्ने जुन रोग छ त्यो अझै पनि चुनौती हो । गुटबन्दीको रोग नै चुनौती हो । विभाजनले केही न केही नोक्सानी त संगठनलाई हुन्छ नै ।

आजसम्म कसैले आँट गर्न सकेको थिएन, पार्टीलाई सुद्धिकरण गर्ने त्यो आँट केपी ओलीले गर्नुभएको छ । जनताको आशिर्वाद जुन छ नेपालको कम्युनिष्ट आन्दोलनलाई हेर्ने, त्यसैले गर्दा गुटबन्दी गर्नेलाई आफैँ हावाले बढारेर लाने भयो । यसले हामीलाई अब अघि बढ्न सजिलो हुन्छ । यिनीहरु आफै बिलाएर जान्छन् । जनताले हामीलाई साथ दिइसकेका छन् ।

अलिक फरक प्रशंग, कोरोनाको लहर फेरि आयो भनिँदै छ, प्रदेश २ का सबै जिल्लाका सिमाना भारतसँग जोडिएका छन्, यस्तो अवस्थामा जनताको जीवन जोगाउन पार्टीले के गर्छ ?

अहिले पनि संघमा हाम्रो सरकार छ । प्रदेश २ को सरकारको भरोसा छैन । हामीले हाम्रा कार्यकर्तालाई जनतामा सचेतनाको लागि परिचालन गर्छौँ ।

सहयोग पनि हाम्रा कार्यकर्ताले गर्छन् । हरेक जिल्लामा हामी यस बारेमा निर्देशन गर्छौँ । आफू पनि सर्तक हुने, जनतालाई पनि सर्तक हुन आग्रह गर्ने । परेको बेलामा सहयोग गर्ने काम हाम्रो पार्टीबाट हुन्छ । केन्द्र र प्रदेश सरकारको पनि ध्यानाकर्षण गर्छौैँ ।
 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !