३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कहिले खेलौना, कहिले औजार, खस्कियो माधवको बजार

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार १२:२६


तपेन्द्र विष्ट

काठमाडौं । एमालेका निलम्वित नेता माधवकुमार नेपालको गुट सखाप भएको छ । बिहीबार सर्वाेच्च अदालतले फैसला पुनरावलोकन नगर्ने निर्णय दिएपछि माधवको गुटमा झन् ठूलो पहिरो गएको छ ।

माधवले एमालेको समानान्तर संगठन बनाउने मात्र होइन, गुटको बेग्लै कार्यालय खोल्ने घोषणा समेत गर्नुभएको थियो । बुधबार काठमाडौंको बुद्धनगरमा माधवले त्यस्तो घोषणा गरिरहनुहुँदा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड डेढ किलोमिटर पर सर्वाेच्च अदालतमा हुनुहुन्थ्यो । एमालेलाई मारेर नेकपालाई ब्यूँताउने निवेदन बोकेर प्रचण्ड सर्वाेच्च पुग्नुभएको थियो ।

माधव, प्रचण्ड लगायत बागी नेताहरु सबैको आशा सर्वाेच्च अदालतले २३ फागुनको फैसला पुनरावलोकन गरिदिन्छ भन्ने थियो । तर, सर्वाेच्चले फैसला पुनरावलोकन गर्न मानेन ।

६ महिना निलम्वनमा परेपछि पनि माधव नेपालले गुट भेलालाई निरन्तरता दिइरहनुभएको थियो । तितरवितर हुँदै गएको गुटलाई जोगाउन, मान्छे टिकाउन माधव प्रचण्डहरुले अदालतले फैसला पुनरावलोकन गर्छ भनिरहनुभएको थियो । अदालतबाट मुद्दा जितिन्छ भनेर उहाँहरुले कार्यकर्ता पंक्तिमा हल्ला चलाइरहनुभएको थियो ।

यही हल्ला नै माधवको गुटको झीनो आधार थियो ।

बुधबार आफ्नो गुटको युवा संघको कार्यालय उद्घाटनमा उपस्थिति असाध्यै पातलो थियो । उद्घाटन समारोहमा कार्यकर्ता भन्दा धेरै सञ्चारकर्मी थिए । उपस्थित कार्यकर्तामा पनि कुनै उत्साह थिएन । मञ्चमा सोफामा बस्नुभएका अर्का नेता रघुजी पन्त कार्यक्रम अवधीभर घोप्टो परेर बसिरहनुभएको थियो ।

गुटको हालत त्यस्तो भइसकेको बेला बिहीबार अदालतले पुनरावलोकन नगर्ने भनी फैसला दियो । अर्थात्, आशाको सानो त्यान्द्रो पनि चुँडियो ।

कहिले खेलौना, कहिले औजार

माधवले १५ एमालेमा एकछत्र राज गर्नुभएको थियो । त्यसपछिका १२ वर्ष पनि पार्टी केन्द्रको सत्तामै रहनुभयो । पार्टी नेताका रुपमा माधवको राजनीतिक जीवन खेलौना बनेर बितेको छ । उहाँ कहिले राजाको खेलौना बन्नुभयो, कहिले माओवादीको औजार बन्नुभयो । कहिले दाम चढाउने त कहिले प्रतिगमन आधा सच्चियो भन्ने उहाँ नै हुनुहुन्थ्यो । माओवादीले सर्वसाधारण सहित एमाले कार्यकर्तालाई रेटेर, गिँडेर मार्दा विरोधमा विज्ञप्ति समेत दिन नमान्ने माधव नै हुनुहुन्थ्यो ।

एमालेको ओरालो गतिको मुख्य जिम्मेवार माधव नै मानिनुहुन्छ । उहाँको नेतृत्वकालमा एमाले सखाप नै हुन लागेको थियो । अहिले उहाँ गुटको नेतृत्व गरिरहनुभएको छ । उहाँको गुट समेत सखाप भइरहेको छ । अर्थात्, माधवको नेतृत्व भनेको सखाप पार्नका लागि हो भन्ने स्थापित भएको छ । गुट र पार्टी सखाप पार्दापार्दै माधवको राजनीतिक जीवन नै अस्ताएको छ ।

माधवले न पार्टी जोगाउन सक्नुभयो, न गुट जोगाउन सक्नुभयो । पार्टी पनि ध्वस्त पार्ने, गुट समाल्न पनि नसक्ने नेता बन्नुभयो । माधवले आफ्नै पार्टीको सरकार पनि जोगाउनुहुन्न, भत्काउनुहुन्छ । एमालेका झलनाथ खनाल प्रधानमन्त्री हुनुहुन्थ्यो, झलनाथको सरकार गिराउने पनि माधव नै हुनुहुन्थ्यो । अहिले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न उहाँले न्वारानदेखिको बल लगाउनुभएको थियो तर सक्नुभएन । जसरी पनि एमालेको सरकार गिराउने र एमालेलाई ध्वस्त पार्ने एकसूत्रीय एजेण्डा बोकेर माधव हिँडिरहनुभएको छ ।

माधवले अब के ?

माधव नेपालका सामु अब के भन्ने प्रश्न उपस्थित भएको छ । हाम्फालेर प्रचण्डको जाने उपाय उहाँसँग बाँकी छ तर त्यसो गर्न सजिलो छैन । उहाँको साथमा रहेका केही सीमित नेता मात्र माओवादीमा जाने पक्षमा छन्, बाँकी सबै एमाले फर्कन चाहन्छन् ।

माधवको गुट दिनहुँ पातलो हुँदैछ । एमालेको नवौं महाधिवेशनमा माधवको गुट संस्थापनको हाराहारीको थियो । माधवका यस्तै गलत नीति, रणनीति र व्यवहारका कारण गुट ध्वस्त हुँदै गयो । प्रचण्डसँग लहसिनुभएपछि माधवको गुट ठाडै ओरालो लाग्न थालेको थियो । अहिले आएर समाप्त नै भएको छ ।

माधवको राजनीतिक जीवनले कुन बाटो लिन्छ भन्ने अबको केही महिना उहाँले के गर्नुहुन्छ र के गर्नुहुन्न, के बोल्नुहुन्छ र के बोल्नुहुन्न भन्नेमा निर्भर रहेको छ । गुटभेला गर्ने, बेग्लै कार्यालय खोल्ने जस्ता गतिविधि रोक्नुभयो भने, एमाले ध्वस्त पार्ने मिशन त्याग्नुभयो भने उहाँको निलम्वन फुकुवा हुनसक्छ । तर, त्यसो नगरेर बुधबारको घोषणा जस्तै समानान्तर संगठन र कार्यालय बनाउन थाल्नुभयो भने चाहिँ एमालेले उहाँलाई साधारण सदस्यताबाट समेत निष्काशित गर्ने देखिन्छ ।

लगभग समाप्त भइसकेको राजनीतिक जीवन बचाउन उहाँ प्रचण्डकै शरणमा जानुहुन्छ कि एमालेमा फर्कनुहुन्छ ? सबैले यही सोधिरहेका छन् । माधवको बोलीव्यवहार र चालामाला हेर्दा उहाँ माओवादीमै फर्कनुहुन्छ भन्ने धेरैको विष्लेशण रहँदै आएको छ ।

बिहीबार सर्वोच्च अदालतले पुनरावलोकन नहुने भनिदिएपछि माधवसँग अब कार्यकर्ता भुलाउने बहाना समेत बाँकी रहेन । उहाँको पछाडि लागेका सीमित नेता कार्यकर्ताहरुको ठूलो पंक्ति एमालेमा फर्किसकेका छन् । बचेखुचेका नेता कार्यकर्ता पनि अब फर्कनेछन् । माधवको गुट बेहुली अन्माइसकेको घरजस्तो सुनसान भएको छ ।

अब के गर्ने ? यो प्रश्नको जवाफ माधवले प्रचण्डको दवाब र प्रभाव मुक्त बनेर खोज्नुपर्ने भएको छ ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !