३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्ड फेरि एक पटक आफ्नो चालमा असफल

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार ०५:१७


काठमाडौं । केपी ओलीलाई एम्बुसमा पार्ने रणनीति लिनुभएका पुष्पकमल दाहाल प्रचण्ड एक पछि अर्को एम्बुसमा आफैँ पर्दै जानुभएको छ ।
नेकपा माओवादीमा अध्यक्ष प्रचण्ड क्रमशः एक पछि अर्को अप्ठेरोमा पर्दै जानुभएको छ । उहाँका एक पछि अर्का योजना असफल हुँदै गएका छन् ।

सशस्त्र युद्धबाट शासन सत्ता कब्जा गर्ने आकांक्षा बोकेर युद्धमा जानुभएका प्रचण्ड त्यहाँबाट सत्ता कब्जा गर्न असफल भएपछि शान्ति प्रक्रियामा आउनुभएको थियो ।

शान्ति प्रक्रियामा आए लगत्तै संविधान सभा निर्वाचनमा गएको माओवादी बुथ कब्जा गरेर चुनाव आफ्नो पक्षमा बनाउन चाहन्थ्यो । पहिलो संविधान सभा निर्वाचनमा त्यो केही सफल पनि भयो । माओवादीले धम्क्याएर केही स्थानमा बुथ कब्जा गरी आफ्नो पक्षमा मत झार्यो । देशको सबैभन्दा ठूलो राजनीतिक दल पनि बन्यो ।

पहिलो संविधान सभाले संविधान बनाउन सकेन । पुनः दोस्रो संविधान सभा निर्वाचन भयो । त्यतिबेलासम्म माओवादी कमजोर भइसकेको थियो । त्यसैले दोस्रो निर्वाचनमा माओवादीको धम्कीबाट मानिसहरु डराउन छाडिसकेका थिए । परिणामतः पहिलो चुनावमा एक नं बनेको माओवादी दोस्रो संविधान सभा निर्वाचनमा आइपुग्दा तेस्रो दल बन्यो ।

अझ गएको स्थानीय तहको निर्वाचनमा माओवादीले सर्वनाक हार व्यहोर्यो । पार्टीको अस्तित्वनै जोगाउन नसक्ने अवस्थामा माओवादी पुग्यो । त्यसबाट अताल्लिनुभएका प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गरी आफूलाई सफल अवतरण गराउने प्रयत्न गर्नुभयो ।

एमालेमा मिसिए पनि प्रचण्डको अस्थिर स्वभावमा परिवर्तन आएन । नेकपाको पूर्वएमाले भित्र खेल्न लाग्नुभयो र माधव नेपाल लगायतलाई हात लिएर पार्टी अध्यक्ष विरुद्ध षडयन्त्रमा लाग्नुभयो । परिणामतः नेकपा विभाजनको मुखमा पुग्यो ।

प्रचण्डको दुर्भाग्य अनि केपी ओलीको भाग्य नेकपा फुटाउनु परेन । नेकपा औपचारिक रुपमा फुट्नु अघि नै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी बनाइदियो । माधव नेपाल लगायतका एमालेका नेता लिएर नेकपा नामको पार्टी कब्जा गर्ने, एमालेको चुनाव चिन्ह सूर्य हात पार्ने र सूर्य चिन्ह प्रतिको मतदाताको मायाको भोट लिएर नेता बन्ने प्रचण्डको चाहनामा पूर्णविराम लाग्यो ।

अदालतको फैसलाले सूर्य चिन्ह एमालेको भयो । उहाँलाई साथ दिँदै गरेका एमालेका माधव नेपाल लगायतका नेता पनि सांसद् पद जाने डरले प्रचण्डसँग एउटै पार्टीमा बस्न सक्नु भएन । एमाले भित्रै संघर्ष गरेर बस्ने भन्दै उहाँहरुले प्रचण्डको साथ छाडिदिनुभयो ।

एक पछि अर्को बाटो बन्द हुँदै गएका प्रचण्डले अदालतको फैसला विरुद्ध पुनरावलोकन गएर नेकपालाई फेरि ब्युताउन सकिन्छ कि भन्ने प्रयत्न गर्नुभयो । उहाँको त्यो अन्तिम प्रयत्न पनि असफल भएको छ । उहाँले अदालतमा गर्नुभएको पुनरावलोकनको उजुरीमा अदालतले सुनुवाई नै नगर्ने फैसला सुनाइदिएको छ ।

अदालतले पुरानै अवस्थामा अर्थात नेकपा एमाले र माओवादी केन्द्रमा फर्काइदिँदा एमालेहरु खुसी हुँदै गर्वका साथ आफ्नो पार्टी र आफ्नो चुनाव चिन्ह लिएर फर्किए । एमालेले केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म मात्र होइन वडास्तरमा समेत कार्यालय स्थापना गरिसकेको छ । पार्टीको बोर्ड र सूर्य चिन्ह फहराई सकेको छ ।

तर माओवादी केन्द्र आफ्नो पुरानो नाममा फर्कन नै अन्कनाइ रहेको छ । त्यसैले नेकपालाई व्युँताउने सोच उसले बनाएको थियो । तर अदालतले बिहीबारबाट यसमा पूर्णविराम लगाई दिएको छ ।

प्रचण्ड फेरि एक पटक आफ्नो चालमा असफल हुनुभएको छ । उहाँले राजनीतिमा चाल्नु भएको खेलमा एक पछि अर्को ढोका बन्द हुँदै गएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !