१९ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चियाको टिपाइ शुरु, उत्पादन बढ्दो

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार ०६:५८


इलाम । चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ ।

‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउनुहुन्छ ।

‘पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ’, शर्माले भन्नुभयो, ‘यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य ९५ रुपैयाँ थियो भने अहिले एक सय हाराहारीमा छ ।’

चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ ।

यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नु परेको छ ।

आकाशे पानी संकलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईको भनाइ छ । बर्खाको पानी संकलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाई बताउनुहुन्छ ।

यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उहाँको भनाइ छ । कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईको छ । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताउनुभयो ।

किसानलाई तोकिएको मूल्य दिन आग्रह

यहाँस्थित सूर्योदय नगरपालिकाले किसानलाई हरियो चियापत्तीको तोकिएको मूल्य दिन आग्रह गरेको छ ।

विगतमा विभिन्न बाहानामा उद्योगीले तोकिएको मूल्य दिन आलटाल गरेकोप्रति लक्षित गर्दै नगरले कानून पालना गर्न अनुरोध गरेको हो ।

नगरले चियाको मूल्यमा एकरुपता ल्याउन दुई वर्षअघि चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि बनाएको छ । मापदण्डमा हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ ।

किसानले पनि उत्पादन गरेको चियामा ४० प्रतिशत मुना चिया हुनुपर्ने मापदण्डमा छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !