३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेलम्चीको पानीले काठमाडौंबासीलाई खुशी दियो – राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १३:०१


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानीले काठमाडौंका जनतालाई खुशी दिएको बताउनु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा काठमाडौंबासीलाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ, यसबाट जनतामा खुशी बढेको छ ।’ वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि काठमाडौंबासी खुशी भएका उहाँको भनाइ छ ।

मेलम्चीको पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यसको विस्तार र सदृढिकरणमा सरकारले थप ध्यान दिनुपर्ने बताउनुभयो । जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायत कारणले पानी वितरण र व्यवस्थापनमा समस्या भएकाले सरकारले यसमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

जमिनमुनिको पानीको दोहन बढिरहेको भन्दै उहाँले मेलम्चीको पानी काठमाडौंमा झरेपछि जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहनजस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ, यसबाट काठमाडौं उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा लिएको छु ।’

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन गर्दा हासिल भएका सकारात्मक र नकारात्मक सिकाईबाट शिक्षा लिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो – ‘आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्नेछ ।’

राष्ट्रपति भण्डारीले मेलम्ची आयोजना सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद् दिनुभयो । उहाँले मेलम्चीको परिकल्पनाकर्ता तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भटट्राईको सम्झना पनि गर्नुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिडेडले चैत १६ गतेदेखि नै मेलम्चीको पानी वितरण गरेपनि औपचारिक उद्घाटन आज मात्र गरिएको हो । साे दिन पहिलो चरण ४ करोड लिटर वितरण गरिएको थियो । दोस्रो चरणमा साढे ६ करोड लिटर वितरण गरिएको थियो । आज बिहानदेखि बालाजु पोखरीमा पानी हालेर साढे ८ करोड लिटर पानी वितरण गरिएको छ । मेलम्चीको पानी क्रमश: दैनिक १७ करोड लिटर वितरण गरिनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !