३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन वर्षभित्र याङ्ग्री-लार्केको पानी पनि काठमाडौं झार्छौं – प्रम ओली

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १४:००


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षभित्र याङग्री-लार्केको पानी पनि काठमाडौं झारिने उद्घोष गर्नुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ०८१ सालसम्म याङग्री-लार्केको पानी पनि काठमाडौंमा झारिने बताउनुभयो । यसका लागि तदारुकतासाथ काम सम्पन्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘प्राविधिक रुपमा कति समय लाग्छ मलाई थाहा छैन, तर यो काम तीन वर्षभित्र सम्पन्न हुनुपर्छ, यसका लागि मन्त्रालयले तदारुकतासाथ काम गर्नुपर्छ ।’

मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा झार्नु विशेष र खुशीको दिन भएको उहाँले बताउनुभयो । मेलम्चीको पानी पिउन पाउने काठमाडौंबासीलाई उहाँले बधाई दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विशेष खुशीको दिन हो आज, हार्दिक बधाई काठमाडौंबासीलाई खानेपानीको सुविधा क्रमश प्राप्त गर्नुहुनेछ, केही समयमा पूर्ण रुपमा प्राप्त गर्नुहुनेछ ।’ विकासका आयोजनामा सरकार थप एक कदम अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाका कामको शिलशिलामा प्राविधिक त्रुटिका कारण जीवन गुमाउने दुई कर्मचारीमा श्रद्धासुमन व्यक्त गर्नुभयो । लापबाहीकै कारण सो दुर्घटना भएको पनि उहाँले बताउनुभयो । आज मात्रै साढे ८ करोड लिटर पानी वितरण भएको भन्दै उहाँले विस्तारै बढाएर दैनिक १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिनुभयो ।

पुर्ननिर्माणका थुप्रै काम ३ वर्षको अवधिमा सम्पन्न गरिएको पनि उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !