तातोपानी कुण्डमा बिरामीकाे भीड
गलेश्वर । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिंगा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ ।
कुण्ड व्यवस्थापन समितिका अनुसार ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी यहाँ आउने गरेका हुन् । कुण्ड क्षेत्रमा साना ठूला तीन कुण्ड छन् । कुण्डमा एक पटकमा पाँच सय जनाले डुबुल्की मार्न सक्छन् ।
कुण्डमा दैनिक पाँच सयदेखि एक हजार जनासम्मले स्नान गर्दै आएका छन् । खासगरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ । नुहाउनका लागि १५० रुपैयाँको टिकट काट्नुपर्छ । कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट नौ किलोमिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ भने काठमाडौंबाट दुई सय ९७ किलोमिटर टाढा पर्छ ।
कुण्डमा स्नान गर्ने आउने बिरामी पहिलो पटक भन्दा पटकपटक आएका अत्याधिक रहेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन् ।
पछिल्लो समय होटल व्यवसायसमेत फस्टाउन थालेपछि विदेशीले समेत हप्ता दिनसम्म स्नान गरेर फर्किने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । ‘नियमित आउने विदेशीको सङ्ख्या पनि बढ्न थालेको छ,‘समूहमै आउन थालेका छन्’ शाक्यले भन्नुभयो ।
देश, विदेशका ठूला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाटसमेत रोक निको नभएपछि आजित भएका बिरामीसमेत यहाँ आएर एक सातादेखि १० दिनसम्म तातो पानी कुण्डमा डुबेपछि स्वास्थ्यलाभ गरेर फर्किएका अध्यक्ष शाक्यले बताउनुभयो ।
ठूला अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट आएका कुण्ड व्यवस्थापन समितिको तथ्यांक रहेको छ ।
शरीरभरि फैलिएको घाउ, छाला फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारमा खुशी थपेको छ ।
नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्यवस्थापन समितिको भ्रमणको रोजाइँमा परेको म्याग्दीको तातोपानी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो ।
विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम सङ्ख्यामा बिरामी पुग्ने गरेको अवस्थामा सिङ्गा तातोपानी कुण्डमा भने बाह्रैमहिना बिरामी आउने गरेका छन् । कुण्डको व्यवस्थापन, पूर्वाधार, बिरामीको चाप नेपालमै पहिलो र उत्कृष्ट भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले दाबी गरेको छ ।
स्थानीयवासीको परिश्रमको परिणाम
कुनै समय भैँसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्डलाई स्थानीयवासीको मेहनतमा बिरामीको उपचार केन्द्र बनेको छ ।
म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयवासीले चार दशकसम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोग गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।
स्थानीयवासीले बिहानबेलुकी स्नान गृहको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ । वि. स. २०४२ मा फेला परेको तातोपानीको मुहानलाई स्थानीयवासीले संरक्षण गरेका अध्यक्ष शाक्यको भनाइ छ ।
घाउ चोटपटक लागेको ठाउँमा पानीमा नून राखेर तातो बनाइ कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको अवस्था छ । बिरेनून र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौसम्म स्नान गर्न सकिने सुविधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।
उहाँका अनुसार एक दिनमा दुई पटक डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म बलाङकेट, पलाष्ट्रिक काम्लो आदी न्यानो कपडा ओढेर शरीरबाट खलखल पसिना निकाल्ने गरिएको छ । तातोपानी पिउनुलाई स्वास्थ्यद्धक मानिएको छ ।
कुण्डमा नेपालका भिआइपीसमेत पुगेर स्नान गर्ने गरेका छन् । सिङ्गाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीयस्थलको रुपमा परिचित छ ।
अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, पोखरे बगरको रातोपानी, दोबाको सेकार्कु, रघुगङ्गा गाउँपालिकाको दर्मीजा, धवलागिरि गाउँपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डमा पनि स्नान गरेर उपचारका लागि बिरामी आउँछन् ।
कोरोनाले थला पारेको होटल र पर्यटन व्यवसायपूर्ण रुपमा चलायमा नहुन अझै समय लाग्ने देखिएको छ । फाट्टफुट्ट पर्यटक आउन थालेपछि व्यवसायमा राहत महसुस गरेका छन् । तर अघिल्ला वर्षमा यो समयमा बिरामीको चाप हुने तातोपानी कुण्ड यो वर्ष बल्ल चलयमान हुनथालेका छन् । यसले थला परेको पर्यटन र होटल व्यवासायीमा राहत मिलेको छ ।
–रासस