भावकु हुँदै दिए माओवादीका मन्त्रीले राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका सरकारबाट राजीनामा दिनुभएका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमानले ‘नमिठो निर्णय लिनुपरेको‘ बताउनुभएको छ ।
गण्डकी प्रदेशमा माओवादी संसदीय दलका नेता समेत रहनुभएका चुमानले प्रदेशसभा बैठकमा बोल्दै केन्द्रीय राजनीतिको प्रभावबाट आफूले मन्त्री पदबाट राजीनामा दिनुपरेको दुखेसो गर्नुभएको छ ।
बैठकमा भावुक मुद्रामा प्रस्तुतहुनुभएका हरिबहादुरले सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको भन्दै राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
‘जब पार्टीभित्र संघर्ष पैदा भयो, पार्टी अलग भएपछि त्यसको प्रभाव तलसम्म पर्दै गयो । फरकपनहरु देखिँदै जाने स्थिति देखियो । त्यस अवस्थामा सरकारमा बसेरभन्दा सरकार बाहिर रहेर प्रतिवाद गर्न र औंलो ठड्याउनु जरुरी छ भन्ने बुझाइ बन्दै गयो । र, यो जटिल राजनीतिक परिस्थितिमा नमिठो निर्णय लिनुपर्ने भयो ।’
केन्द्र सरकारले प्रदेशलाई मजबुत बनाउन नचाहेको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन । प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ । माथि जे–जस्ता घटनाहरु हुन्छन्, त्यसको प्रभाव सिधै प्रदेशमा परेको छ । त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन ।’
भावुक हुँदै उहाँले थप्नुभयो–‘सरकारलाई यहाँभन्दा अघि सहयोग गर्न सकिएन । देश र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्रीज्यूलाई हार्दिक धन्यबाद दिन्छु ।’
बैठकमा आउनुअघि उहाँले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुलाई राजीनामा पत्र बुझाउनुभएको थियाे । उहाँको नेतृत्वमा रहेको माओवादी संसदीय दलले आज बिहान सरकारबाट हट्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।
-आईएनए न्युज एजेन्सी