सहकर्मीलाई सिध्याएर देश अगाडि बढ्दैन– देवेन्द्र पौडेल
काठमाडौं । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रतिनिधि सभालाई सक्रिय बनाउनु पर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै नेता पौडेले प्रतिनिधि सभालाई जनताको समस्या छलफल गर्ने थलो बनाउनु पर्ने बताउनुभयो ।
सदनलाई निष्कृय बनाउँदै लैजाने कुरा राजनीतिक संस्कार र मूल्य मान्यता विपरित रहेको उहाँले बताउनुभयो । उहाँले नेकपा विभाजित भएकाले दल विभाजनको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी गर्नुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र भएकोले ती आयोजनाका काम प्रभावकारी रुपमा अघि बढाउन उहाँले आग्रह गर्नुभयो । योजनाहरुको प्रभावकारी अनुगमन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
विकास र समृद्धिको चरणमा प्रवेश गरेको नेपाललाई यी काममा गहिरो गरी अध्यनन गर्न पौडेलले सरकारसँग माग गर्नभयो । कोरोनाको महामारी बढ्दै गएकोले यस तर्फ सरकारको उहाँले ध्यानकार्षण गर्नुभयो ।
उहाँले राजनीतिमा सहकार्यको वातावरण मिलाएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो । ‘आफ्नै सहकर्मीलाई सिध्याएर देशको राजनीति अघि बढ्दैन’, उहाँले भन्नुभयो ।
-आईएनए न्युज एजेन्सी