३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

व्यापार घाटा र कोभिड बारे प्रम ओलीले दिनुभयो यस्ता सूत्र

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ११:५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभामा फरक ढंगले प्रस्तुत हुनुभयो । सधैँको जस्तै प्रधानमन्त्रीले कार्यक्रममा बोल्नुभयो । तर अलि फरक । फरक यो अर्थमा कि, प्रधानमन्त्रीले राजनीतिक विषयमा बोल्नुभएन ।

प्रधानमन्त्री पुग्नुभएको अधिकांश कार्यक्रममा उहाँको चाखलाग्दो राजनीतिक भाषणको आशा गरिन्छ । तर, उपस्थित ब्यवसायी माझ प्रधानमन्त्रीले प्रष्टैसँग भन्नुभयो– ‘म आज राजनीतिक कुरा गर्दिन ।’

राजनीतिको कुरा गर्दिन भन्दाभन्दै उहाँले केही वाक्य राजनीतिका कुरा गर्नुभयो र आफ्नो भनाईमा ‘लड्डु’ पनि घुसाउनुभयो । उहाँको भनाई यस्तो थियो– ‘कतिपयले भन्लान् आफ्नो कुरा गर्नु नि ।

धेरैले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । तपाईंहरुसँग आएर मैले राजनीति बारे के भन्ने ? संगठनात्मक कुरा बताउने कि ? राजनीतिका दाउपेचका कुरा बताउने कि ? तपाईंहरुलाई लड्डु खान सिकाउने कि ? राजनीतिको के चाहीँ कुरा गर्ने ?’

रुचीकर र विनोदप्रिय भाषण गर्ने प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तपाईंहरुसँग विजनेशका कुरा गर्न परेन ? उद्योग ब्यवसायका कुरा गर्न परेन ?’

‘यो देश मैले बनाउनुपर्छ भनेर प्रण गर्नुस्’– उहाँले भन्नुभयो– ‘आ–आफ्नो स्थानबाट लागिपर्नुस् । सरकार तपाईंहरुको साथमा छ । हिजो सरकारले पर्याप्त सहयोग गरेन होला तर आज हामी ती कुरालाई ट्रयाकमा ल्याउँदैछौं । यसले गति लिन्छ र लिँदैछ ।’

प्रधानमन्त्रीले व्यापारीहरु माझ देशको व्यापार घाटा घटाउने मन्त्र भन्नुभयो– ‘अत्यावश्यक वस्तु मात्रै आयात गर्नुपर्छ । निर्यातमूलक बस्तुको उत्पादन गरेर धेरै भन्दा धेरै निर्यात गर्नेमा जोड दिउँ । आयात यस्तो बस्तु मात्र गरौँ जो हाम्रो जनजीवनका लागि आवश्यक छ, उपयोगी छ ।’

उहाँको भनाई थियो– ‘अनावश्यक आयात र व्यापार कम गर्यौँ भने ब्यापार घाटा पनि कम हुन्छ र हामी सुधारतर्फ जान्छौं । यसले हाम्रो ब्यापार असन्तुलन र मुद्रास्फितीमा सुधार आउँछ ।’

‘हामीले राष्ट्रको आवश्यकता अनुसार उद्योग खोलौं जसले बढि भन्दा बढि रोजगार र उत्पादन दिन सकोस्  । आयात विस्थापन र निर्यात बढि गर्न सकोस्’– यति भनिसकेर प्रधानमन्त्रीले भन्नुभयो– ‘यी सूत्र अनुसार लगानी गर्नुपर्छ ।’

प्रधानमन्त्रीको स्वीकारोक्ति थियो– ‘उद्योग सञ्चालनको क्षेत्रमा धेरै कानुनी बाधा अड्चन छन् ।’ त्यस्ता अड्चनलाई सहज र सरलीकृत बनाउनेतर्फ सरकार अग्रसर भएको बताउनुभयो ।

उद्योगी व्यापारीहरुले निरन्तर भोग्दै आएको समस्या प्रधानमन्त्रीले यसरी व्यक्त गर्नुभयो– ‘एउटा उद्योग खोल्न प¥यो भने विभिन्न प्रक्रियाको जञ्जाल छ । एउटा कागज पास गर्न बर्षौं लाग्छ । प्लानिङ गर्दागर्दै आधा उमेर गइसक्छ । त्यस ढंगले होइन, सरलिकृत ढंगले अगाडी बढ्ने प्रक्रियालाई हामी प्रभावकारी बनाउँछौँ ।’

कोभिड १९ महामारीको नयाँ लहरबारे पनि प्रधानमन्त्रीले बोल्नुभयो । आफू लकडाउनको पक्षमा नरहेको संकेत गर्दै भन्नुभयो– ‘कोभिड १९ ले हाम्रो होटल, पर्यटन क्षेत्रमा नोक्सान गर्‍याे ।

तर अन्य देशको तुलनामा त्यति धक्का खानु परेन । महामारी टरेको छैन । त्यसकारण महामारी बीच पनि जनजीवनलाई ठप्प पनि नपारौँ । सावधानी अपनाएर अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्रीले व्यापार घाटा कम गर्ने, औद्योगिकरण गर्ने, रोजगार सिर्जना गर्ने लगायतका सूत्र मात्र बताउनुभएन, कोभिड १९ बाट बच्ने सूत्र पनि बताउनुभयो– ‘बाहिरफेर खान कम गर्नुपर्छ, ताजा खाना घरमै बनाएर खानुपर्छ । सुत्ने बेलामा बेसार पानी खानुस् । दुरी कायम गर्नुस्, मास्क लगाउनुस् । बाहिरी तथा शरिरको सरसफाईमा विशेष धयान दिनुस् । आत्तिनु पर्दैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !