गैँडा गणना आज सकिदैँ
चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उहाँले भन्नुभयो, ‘ध्रुवे हात्तीले अवरोध पुर्याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।’
बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जंगली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उहाँले जानकारी दिनुभयो । हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।
नेपालमा सन् १९५० मा आठ सय १९५५ मा चार सय १९६० मा तीन सय १९६५ मा एक सय, १९७० मा एक सय आठ, १९७५ मा एक सय ४७, १९८० मा तीन सय १०, १९८५ मा तीन सय १०, १९९० मा तीन सय ५८ र १९९५ मा चार सय ६६ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी सन् २००० मा ६ सय १२, २००५ मा चार सय नाै, २०१० मा चार सय ३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६ सय ४५ पुगेको हो । यस वर्ष गणनामा ४० हात्ती र दुई सय जनशक्ति परिचालन गरिएको छ ।
दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो ।बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइएको छ ।
यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् ।
–रासस