२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०९:३२


काठमाडाैं । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ ।

तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ ।’

लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उहाँले बताउनुभयो ।

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ ।

मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ । कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरीजलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।’

लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । बाँकी ६ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् ।

अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !