२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ घोडेजात्राको पौराणिक महत्व

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०६:०८


काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा घोडेजात्रा पर्व मनाईंदैछ ।

कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षहरुमा जस्तो भव्य रुपमा आज   घोडे्जात्रा मनाइने छैन । कोरोनाको नयाँ प्रजाति नेपालमा भित्रिएकाले सरकारले २५जना बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । पुरानो परम्परा र संस्कृतिलाई कायमै राख्न जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र यो वर्षको घोडेजात्रा मनाउनुपर्ने वाध्यता छ ।

घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ । घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

कसरी सुरु भयो घोडेजात्रा ?

नेपालमा घोडे जात्रा मनाउने प्रचलन धेरै पुरानो हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

यो क्रम चलिरहेपछि पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई मारे (संहार) गरे । तर, उसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई हानी गर्नसक्ने डर स्थानीयमा रहिरह्यो ।
यसकारण हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको थियो ।

घोडाको टापले राक्षसलाई दबाउने यही परम्परा अहिले घोडे जात्रा भनि स्थापित भयो । प्राचिन मान्यता अनुरुप नै स्थानीले कुनै पनि बालबालिकामाथि गुरुपमाको खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने गर्छन् ।

घोडे जात्रालाई नेवारीमा पाहाँ चल्हे पनि भन्ने गरिन्छ । पाहाँ चाले अहिले घोडेजात्रा बन्यो । घोडाको टापले कुल्चिएर राक्षसको आत्मा दबाउने चलन अहिले सैन्य कला प्रदर्शनीको एक आधार पनि बन्यो । काठमाडौंका सीमित जनताले मात्र मनाउने यो जात्राले अहिले अन्तर्राष्ट्रिय महत्व पनि पाएको छ । काठमाडौं उपत्यकाबाहेक नेवार समुदाय रहेका अन्य जिल्लाहरुमा पनि घोडेजात्रा पर्व मनाइन्छ ।

घोडेजात्रा दिन दिउँसो नेपाली सेनाले विभिन्न कलाहरु प्रदर्शन गर्दै आइरहेको छ । नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने गर्छ ।
घोडेजात्राको दिन ललितपुरमा कान नसुन्ने घोडा दौडाएर घोडे जात्रा मनाउने प्रचलन समेत छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !