१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०६:२७


चितवन । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा आइतबार साँझ दीपप्रज्वलन गरिएको छ ।

रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् ।

पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिंगे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ ।’ कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलराम दाहालले सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर रहेकाले पर्यटनको मुख्य आधार नै एकसिंगे गैँडा रहेको बताउनुभयो ।

गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको सङ्ख्या वृद्धि भएको पाइएकाले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । सन् ०१५ मा गैँडाको सङ्ख्या ६ सय ४५ रहेकोमा बढेर सात सय ५२ पुगेको छ । चितवनमा ६ सय पाँच  बाट ६ सय ९४, बर्दियामा २९ बाट ३८ र शुक्लाफाँटामा आठबाट १७ पुगेको छ । पर्सामा तीनवटा नै यथावत् रहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !