३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शून्य समयका सुन्न र पढ्न लायक कुराहरु

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०८:५२


काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज इन्दुकुमारी शर्माले कविता भन्नुभयो । सदनमा कविता भन्ने चलन नयाँ भने होइन ।

सिर्फ एक मिनेटमा बोलिसक्नुपर्छ सांसद्ले शून्य समयमा । इन्दुकुमारीले त्यही एक मिनेटमा कविता भन्नुभएको हो । उहाँको कविताको सार थियो– ‘अझै पनि विघटन गर्ने दाउपेच बुन्दैछन् । संसद विघटन ठिक हो भन्नेहरु लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्दैछन् । बालुवाटारमा कक्टेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौं ?’

शून्य समयमा अञ्जना विशंखेले नेपालमा सेटिङका आधारमा हरेक कुरा निर्णय गरिने दावी गर्नुभयो । सेटिङकै आधारमा निर्वाचन आयोग र सर्वाेच्च अदालतले पनि निणय गर्ने गरेको दावी गर्नुभयो ।

अनिल झाले एउटा गम्भीर समस्या एक मिनेटभित्र उठाउनुभयो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विभिन्न व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ता बारेमा उहाँले बोल्नुभएको थियो । एक ठाउँको मानिस अर्काे ठाउँमा बसोबास गर्दा उसले भत्ता नपाएको गुनासो गर्दै समाधानको माग गर्नुभयो ।

उमा रेग्मीले पनि कविता शैलीमै बोल्नुभयो । उहाँको भनाई थियो– ‘घरी रेल ल्याइदिन्छौं, घरी पानीजहाज ल्याइदिन्छौं, घरघरै ग्यास पाइप पुराइदिन्छौं, घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाँट्ने ?’ थालनी उहाँको कविता जस्तो थियो तर केही वाक्यपछि उहाँको अभिव्यक्ति भाषणजस्तो हुन गयो । भन्नुभयो– ‘ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता बनाइदिन्छौं भनेर किन ढाँटेको ? दिने भनेको कुरा पूरा गर्नपर्छ ।’

कृष्णबहादुर राईले धेरै पटक सदनमा उठाइसकेको कुरा फेरि उठाउँछु भन्दै बोल्नुभयो– ‘बाग्मती सभ्यता एकीकृत विकास समिति जुन उद्देश्यसाथ स्थापना भएको थियो, त्यो उद्देश्य पूरा गर्न काम भएन ।’

खगराज अधिकारीले कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा एमसीसी सम्झौता गरिएको भन्नुभयो । उहाँले भन्नुभयो– ‘एमसीसीलाई यो संसद्मा कति वर्ष लट्काउने ? एमसीसीलाई तुरुन्तै संसद्को विषय बनाइयोस् भनी माग राख्छु ।’

खेमप्रसाद लोहनीले एक मिनेटभित्र सरकारका तीन वर्षका उपलब्धी वर्णन गर्नुभयो । सरकारले ३९६ आधारभूत अस्पताल शिलान्यास गरेको, मेलम्ची आयोजना उद्घाटन गरेको, १६५ रणनीतिक सडकको शिलान्यास गरेको, पालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे बनाउने काम थालेको, दैनिक दुईटा झोलुंगे र एउटा मोटरेबल पुल बनाएको चर्चा गर्नुभयो । त्यसपछि भन्नुभयो– ‘१६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गर्दा केही माननीयलाई चित्त दुखेको छ ।’

गगन थापाले भाषा र सीप परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई जाने व्यवस्था गराउन सरकारसँग माग गर्नुभयो ।

गजेन्द्र बहादुर महतले मेलम्ची देखाएर पेट्रोल डिजेलको भाउ बढाइएको दावी गर्नुभयो । उहाँको अर्काे दावी झन् रोचक थियो– ‘धरहरा देखाएर डण्डी र सिमेन्टको भाउ बढाइएको छ ।’ उहाँको अर्काे टिप्पणी यस्तो थियो– ‘विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाइएको छ ।’

घनश्याम खतिवडाले विश्वासको मत फिर्ता लिन्छु भन्ने तर फिर्ता नलिने, प्रधानमन्त्रीको राजीनामा माग्ने तर अविश्वासको प्रस्ताव नराख्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीलाई विधि र नियमले हटाउन मिल्छ तर त्यो बाटो हिँड्न किन अनिच्छा देखाएको ?’

चाँदतारा कुमारीले संसदीय समितिको महत्व देखिएन भन्नुभयो । समितिको सिफारिस सरकारले सुनुवाई नगरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘संसद्को सदनकै महत्व छैन भने समितिको के महत्व होला ?’

विघटन हुन्छ भन्ने हल्लाले सांसद्हरुलाई काम गर्ने हौसला हराएको, उनीहरु हतोत्साहित भएको बताउनुभयो ।

छक्कबहादुर लामाले चीनसँगको हिल्सा नाका कोभिड महामारीका कारण बन्द रहेको भन्दै हवाई मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी बढाउनुपर्छ भन्नुभयो ।

गंगा चौधरी सत्गौवाले सरकार परिवर्तन गर्ने खेलान नलागौं भन्दै स्वार्थको राजनीति त्याग्नुपर्छ भन्नुभयो । एक मिनेटको अभिब्यक्तिमा गंगाको अन्तिम वाक्य यस्तो थियो– ‘श्री पशुपतिनाथले सबै नेपालीको मनमष्तिष्कमा सदबुद्धि पलाओस् ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !