३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भीम रावललाई भ्रष्टाचार मुद्दा लाग्दै

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ०६:३८


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता भीम रावललाई भ्रष्टाचारको मुद्दा लाग्ने भएको छ ।

तत्कालीन नेकपाको खातामा रहेको रकम हिनामिना गरेको अभियोगमा रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको एमाले सुदूरपश्चिमले जनाएको छ ।

तत्कालीन नेकपाको खातामा रहेको रकम व्यक्तिको खातामा राख्न लगाएकाले रावल लगायत केही नेतालाई मुद्दा हाल्न लागिएको हो ।

रावलले तत्कालीन नेकपा सुदूरपश्चिमको खातामा रहेको ३० लाख रुपैयाँ व्यक्तिको खातामा सारेको तथ्य सार्वजनिक भएको छ । पार्टीको पैसा हिनामिना गरेको अभियोगमा रावलाई कारबाही गर्न लागिएको एमाले सुदूरपश्चिमका इञ्चार्ज कर्ण थापाले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा सुदूरपश्चिमका अध्यक्ष समेत रहनुभएका थापाले भन्नुभयो – ‘पार्टीको पैसा हिनामिना गर्नेलाई कारवाही हुन्छ, हामी तत्काल प्रकियामा जान्छौँ, आवश्यक परे मुद्दा हाल्छौं ।’

थापाका अनुसार रावलले प्रदेश पार्टी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीको खातामा पार्टीको ३० लाख रकम रकमान्तरण गर्नुभएको थियो ।

पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । सो रकम सुबेदीको खातामा भेटिएको छ । रकमान्तरण गर्न प्रदेश अध्यक्ष कर्णबहादुर थापा, तत्कालीन नेकपाका सचिव नेपबहादुर चौधरी र सचिवमध्ये दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुने व्यवस्ता थियो ।

तर, रावलले पार्टी र पार्टी अध्यक्षलाई जानकारी नदिएरै रकम रकमान्तरण गर्नुभएको हो । चौधरी र सुवेदी मिलेर सो रकम निकाल्नुभएको थियो ।

नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुवेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको कर्णले बताउनुभयो ।

कृषि विकास बैंकमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैंक धनगढी शाखाले नै पुष्टि गरेको छ ।

रावलसहित नेपवहादुर चौधरी, दिनेश चन्द्र सुवेदी र केशव रावलविरुद्ध मुद्दा दर्ताको तयारी अन्तिम चरणमा रहेको थापाले बताउनुभयो ।

रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई पनि ५ लाखको चेक काटिएको थियो । पार्टीको खातामा भएको ३८ लाख मध्ये ५ लाख केशव रावलको नाममा चेक काटिएको उहाँले बताउनुभयो ।

कर्णले भन्नुभयो – ‘के के लागि चेक काटिएको हो प्रयोजन पनि खुलाइएको छैन ।’ पार्टीको रकम व्यक्तिको खातमा पठाउने बैंकलाई पनि मुद्धा दायर गरिने थापाले बताउनुभयो । ‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो, तर उहाँहरुले हिनामिना गर्नुभयो’ – थापाले भन्नुभयो  ।

उहाँका अनुसार सो पैसा एमालेको हो । ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौं, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन, सबै रकम एमालेकै हो’– कर्णले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !