३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बझाङ माओवादीले गर्‍यो भ्रष्टाचार, मुद्दा हाल्ने तयारी

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ०८:२४


काठमाडौं । माओवादी केन्द्र बझाङले भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएको छ । तत्कालीन नेकपा बझाङको खातामा रहेको रकम माओवादी केन्द्रले हिनामिना गरेको हो ।

तत्कालीन नेकपा बझाङको खातामा रहेको १७ लाख रुपैयाँ अध्यक्ष मीनबहादुर कुँवर लगायतको खातामा सारिएको खुलेको हो । योसँगै मीनबहादुरसहित केही व्यक्तिविरुद्ध मुद्दा हाल्ने तयारी गरिएको एमाले बझाङले जनाएको छ ।

तत्कालीन नेकपा हुँदा सदस्यता नविकरण र जनप्रतिनिधिबाट संकलन गरिएको रकम अध्यक्ष कुँवर लगायतको खातामा सारिएको एमाले बझाङका अध्यक्ष अपिलाल ओखेडाले जानकारी दिनुभयो । तत्कालीन नेकपा बझाङका अध्यक्ष मीनबहादुर हाल माओवादी केन्द्रका पनि अध्यक्ष हुनुहुन्छ ।

सर्वोच्चको फागुन २३ को फैसलापछि नेकपा एकता भंग भएर एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए । पार्टी पूर्ववत अवस्थामा फर्किनासाथ जानकारी नै नदिएर मीनबहादुर लगायतले रकमान्तरण गरेको अपिलालले बताउनुभयो ।

‘पार्टीको खातामा रहेको १७ लाख रकम हिनामिना भएको छ, हामीले फिर्ता गर्न पटक पटक तागेता गर्दा पनि फिर्ता भएको छैन, सार्वजनिक अपिल गर्दापनि फिर्ता नगरे मुद्दाको प्रक्रियामा जान्छौं’ – ओखेडाले भन्नुभयो ।

उहाँका अनुसार पार्टीको खातामा राखेको रकम अध्यक्ष मीनबहादुर, नेकपा बझाङ कार्यालय सञ्चालन समिति सदस्य दमन भण्डारी, कार्यलय सचिव सूरतबहादुर सिंह र कार्यलय सहयोगी रामचन्द्र रोकायका नाममा दुई पटक गरी १७ लाख रकमान्तरण गरिएको छ ।

अपिलालका अनुसार मीनबहादुर कुँवरको खातामा ६ लाख, दमन भण्डारीको खातामा ५ लाख, कार्यलय सचिव सुरतबहादुर सिहंको नाममा ५ लाख र कार्यलय सहयोगी रामचन्द्र रोकायाको खातामा १ लाख रुपैँया रकमान्तरण गरिएको छ ।

सार्वजनिक अपिल अटेर गरेर रकम फिर्ता नगरे बैठक बसेर मुद्दा हाल्ने प्रक्रियामा जाने अपिलालले बताउनुभयो । ‘प्रदेशबाट जिल्लासम्म पार्टीको रकम हिनामिना भएको छ, यसमा केही चलखेल पनि हुनसक्छ’– अपिलालले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !