३० माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सचेत बनौं, नेपालमा कोरोनाको बाढी आउन सक्छ

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार १०:२२


काठमाडौं । कोरोना भाइरस संक्रमणले सिंगो विश्वसँगै नेपाललाई पनि फेरि सताउने देखिएको छ । नेपालमा कोरोनाको बाढी आउने सक्ने सम्भावना बढेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ । केही दिन यता कोरोनाबाट संक्रमित र निधन हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

आगामी असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने प्रक्षेपण सवास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत वर्ष पनि मन्त्रालयले त्यस्तै खालको प्रक्षेपण गरेको थियो  । तर सरकारको तयारीका कारण आँकलन गरिएजति क्षति भएन । कोरोना मृत्युदर पनि कम नै रह्यो । तर दोस्रो लहरमा देखिएको कोरोनाको नयाँ प्रजाति अलि कडा खालको भएकाले यसको असर गम्भीर रहेको डाक्टरहरुले बताइरहेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीले दैनिक ११ हजार संक्रमित थपिन सक्ने जानकारी दिनुभयो । अहिलेको संक्रमणदरले त्यस्तो देखाएको उहाँले बताउनुभयो । अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए आगामी असारसम्मसक्रिय संक्रिय संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

संक्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक तयारी गरिरहेको समेत उहाँले बताउनुभयो । ‘मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गरिरहेको छ, भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेन्टिन थप गरिँदैछ’– त्रिपाठीले भन्नुभयो ।

सोमबार एकैपटक ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जनाको ज्यान गएको थियो । जुन संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिकै धेरै हो ।

मन्त्रालयले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । भीडजन्य कुनैपनि कार्यक्रम नगर्न समेत मन्त्रालयले अपिल गर्दै आइरहेको छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !