२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार लकडाउन चाहँदैन- प्रम ओली

प्रकाशित मिति :  १ बैशाख २०७८, बुधबार ०४:३४


काठमाडौं । ‘सबै कुरा मानिसका लागि, सबै कुरा मानवद्धारा’– यो सूत्र वाक्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो– जीवन रहे सबै थोक हुन्छ, प्रगति र विकास गर्न सकिन्छ, कोभिड महामारीबाट बच्नुपर्छ ।

 

नयाँ वर्षको पहिलो दिन देशवासीलाई सम्बोधन गर्दै कोभिड १९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिमा पनि देशले सन्तोषजनक प्रगति गरेको बताउनुभयो ।

सामाजिक जनजीवन तथा आर्थिक क्रियाकलाप, वृद्धिदरमा तुलनात्मक रुपमा कम क्षति भयो, केही असर पर्यो तर ऋणात्मक हुनु नपरेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिकूलताका बीच पनि समय खेर जान नदिएको भन्दै उहाँले महामारी बीच गरिएका विकास निर्माणको चर्चा गर्नुभयो ।

भन्नुभयो– ‘हामी कोभिडबाट सुरक्षित हुनपर्छ । नियम र मापदण्ड पालना गर्नुपर्छ, सरकारले जारी गरेका जानकारीहरु र सरकारले गरेका आग्रह पालना गरौं । आफू सुरक्षित बनौं, अरुलाई पनि सुरक्षित बनाउँ । त्यसो गरेमा जनजीवन सुचारु बनाउन सक्छौं ।’

कतिपयले आजै लकडाउने, भरे नै लकडाउन, भोलि लकडाउन भनेर हल्ला चलाएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो– ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर, हामीले हेक्का राख्नुपर्छ युरोपका देशहरु, विकसित भनिएका कतिपय देशहरु जब महामारी व्हात्तै फैलियो त्यस्तो अवस्थामा लकडाउन गर्न वाध्य छन् । दोस्रो तेस्रो चरणमा फैलिएको लहरबाट बच्न लकडाउनको सहारा लिन परेको छ ।’

हाम्रो सतर्कताको विधिबाट परिस्थिति बिग्रन नदिउँ र लकडाउनमा पुग्न नपरोस् भन्ने प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

‘अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो पनि भने केहीले’– प्रधानमन्त्रीको गुनासो थियो– ‘म धम्की दिन्न, धम्की दिने हैसियत राख्दिन, धम्की दिनु उचित पनि ठान्दिन । लकडाउनको अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ । परिस्थिति बिग्रियो भने लकडाउनमा पनि पुग्न सक्छ । त्यसकारण सजग हुनुपर्छ भनेको हो ।’

‘हामी सतर्क बन्नुपर्छ’– प्रधानमन्त्रीले भन्नुभयो– ‘कोभिड १९ बाट सावधान रहन, वचावका उपायहरु गर्न, बालबालिकालाई बचाउन, ज्येष्ठ नागरिकहरुलाई पनि बचाउन अगाडि बढौं । हामीले खोपको सुरुआत गरिसकेका छौं ।’

कोभिड नियन्त्रण गर्न सक्छौं भन्ने विश्वासका साथ अगाडि बढ्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !