न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित
म्याग्दी । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रंभावित भएको छ । ०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।
रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो ।
रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो । मुद्दाको सुनुवाइ, फैसला, मिलापत्रलगायतका सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भेषराज पौडेलले बताउनुभयो ।
‘मुद्दाको पुनरावेदन गर्ने अधिकार स्रेस्तेदारलाई भए पनि पुनःविचार गर्ने अधिकार न्यायाधीशलाई मात्र हुन्छ,’ उहाँले भन्नुभयो, ‘मुद्दाको पुनःविचार गर्ने न्यायाधीश नहुँदा केही बन्दी बढी समय हिरासत र कारागारमा बस्नुपरेको छ ।’
कानून व्यवसायी चिरञ्जीवी शर्माले न्यायाधीश नहुँदा नागरिकको मौलिक अधिकारसँग जोडिएको न्याय सेवा प्रभावित भएको बताउनुभयो ।
सबैभन्दा बढी वैदेशिक रोजगार प्रयोजनका लागि अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने प्रभावित भएका छन् । जापान, अस्ट्रेलिया अमेरिकालगायत देशमा आश्रित भिसामा जानका लागि कागजी प्रक्रिया पूरा गर्न अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।
जनकपुर अदालतमा न्यायाधीश पौडेलले हेर्नुभएका मुद्दा टुंगाे लगाउनुपर्ने र फैसला भएका मुद्दाको पूर्णपाठ तयार पार्न समय लाग्ने भएकाले म्याग्दी आउन ढिलाइ भएको श्रेस्तेदार पौडेलले बताउनुभयो ।
मुद्दाको पूर्णपाठ तयार पार्न २१ दिन र सरुवा भएको ठाउँमा पुग्न बाटोको म्याद सात दिनको हुन्छ । न्यायाधीश पौडेल वैशाख ६ गते म्याग्दी आउने तयारी गर्नुभएको अदालतले जनाएको छ ।
म्याग्दी जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्म दुई सय २६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट १५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । एक सय ७५ वटा मुद्दाको फैसला भएको छ ।
यसैगरी अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार पाँच करोड ४३ लाख २८ हजार चार सय २७ रुपैयाँ जरिवाना र ५० वर्ष तीन महिना २६ दिन कैद सजाय असूल उपर गर्न बाँकी छ ।
गत आर्थिक वर्षको जिम्मेवारी सरेको ९५ लाख २४ हजार तीन सय ४९ रुपैयाँ र यस वर्ष थपिएको आठ करोड १४ लाख ४६ हजार ६ सय ८३ रुपैयाँ मध्ये तीन करोड ६६ लाख ४४ हजार ६ सय पाँच रुपैयाँ असूल उपर भएको छ ।
जिम्मेवारी सरेर आएको पाँच लाख ६२ हजार ६४ रुपैयाँ र यो आर्थिक वर्षको तीन करोड ६० लाख ८२ हजार पाँच सय ४१ रुपैयाँ असूल भएको हो । नौ महिनाको अवधिमा दुई सय ३५ वर्ष ११ महिना १ दिन कैद सजाय फस्छौट भएको अदालतले जनाएको छ ।
–रासस