२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री गुरूङ विरुद्द आज अविश्वासको प्रस्ताव दायर गर्ने तयारी

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०६:१५


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्द आज अविश्वासको प्रस्ताव दायर हुदैँ छ ।

एमाले बाहेकका राजनीतिक दल यसको तयारीमा जुटेका छन् । राष्ट्रिय जनमोर्चाले एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे लगत्तै अविश्वास प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।

हिजो प्रेस विज्ञप्ति जारी गरि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद् प्रकाश दवाडीका अनुसार आज नै कांग्रेस र प्रतिपक्षी दलहरुकोको बैठक बसेर मुख्यमन्त्री विरुद्द अविश्वासको प्रस्ताव दायर गर्ने योजना रहेको छ ।

‘अहिले कांग्रेसको बैठक बस्दै छ, त्यसपछि प्रमुख तीन प्रतिपक्षी दलको बैठक बसेर आज नै १ बजे भित्रमा अविश्वासको प्रस्ताव दायर हुन्छ’ – उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीका रुपमा नाम अगाडि सारिएको सांसद् दवाडीले जानकारी दिनुभयो । यस अघि बिहीबार बिहान कांग्रेस र माओवादीको बैठक बसेको थियो ।

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी सरकारलाई समर्थन नदिने भनेर विज्ञप्ती जारी गरेपनि जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले भने गुरुङकै पक्षमा बोलिरहनुभएको छ । जनमोर्चाकी सांसद् पियारी थापा भने सरकारलाई साथ नदिने पक्षमा हुनुहुन्छ ।

गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । एमालेका मात्रै २७ सांसद् छन् । तीमध्ये स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ । सरकारमा टिक्न एमालेलाई थप तीन सांसद् चाहिन्छ ।

प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद् छन् । एमाले नेतृत्वको सरकार ढले कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका एक सांसद् भए नयाँ सरकार गठनका लागि बहुमत पुग्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !