२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउ – तीन दल

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०८:१४


काठमाडौं । गण्डकीमा नेपाली कांग्रेससहितका तीन दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले विशेष अधिवेशनको माग गर्न लागेका हुन् ।

अविश्वास प्रस्ताव छल्न प्रदेश सरकारले अधिवेशन अन्त्य गरेपछि विशेष अधिवेशन माग गर्न लागिएको कांग्रेस सांसद् दिपक कोइरालाले जानकारी दिनुभयो । कसरी अगाडि बढ्ने रणनीति तय गर्न अहिले कांग्रेस, माओवादी केन्द्र र जनता जसपाको संयुक्त बैठक बसिरहेको कोइरालाले बताउनुभयो ।

‘प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्णय सरकारको हठात् मानसिकता हो, तीन–चार दिनमा अधिवेशन अन्त्य गर्ने यो सरकारको विकल्प खोज्छौं’ – दिपकले भन्नुभयो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली गण्डकीको भावी मुख्यमन्त्री बन्नुहुने बताउँदै दिपकले भन्नुभयो – ‘नेपालीको नाममा सहमति जुटिसक्यो, जनमोर्चाले पनि हामीलाई साथ दिन्छ तर सरकारमा जाँदैन ।’

मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार दिउँसो अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी ती दलहरुको थियो । तर, प्रदेश सरकारले बुधबार मध्यरातदेखि नै लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । एमालेका मात्रै २७ सांसद् छन् । तीमध्ये स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ । सरकारमा टिक्न एमालेलाई थप तीन सांसद् चाहिन्छ ।

प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद् छन् । एमाले नेतृत्वको सरकार ढाल्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य चार दल एक ठाउँ उभिनुपर्छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !