राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन् – प्रचण्ड
काठमाडौं । ‘सबैभन्दा राम्रा दिमाग भएका मानिसहरु अहिलेपनि मेरै पक्षमा छन्’ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी छ ।
वाग्मती प्रदेशस्तरीय कराँते प्रतियोगिताको बाैद्धमा उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो – ‘नेपालका सबैभन्दा राम्रा दिमाग भएका मानिसहरु मेरै पक्षमा छन्, त्यसैले प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरु मेरै पक्षमा उभिए ।’ सबै बौद्धिक तप्का, खेल क्षेत्र, नागरिक अगुवा र विज्ञहरु अलोकन्तान्त्रिक, असंवैधानिक, निरंकुश र तानाशाही कदमको विरोधमा गएपछि अन्ततः अदालतले पनि प्रतिनिधि सभा पुर्नस्थापना गर्ने निर्णय गरेको प्रचण्डको भनाइ छ ।
अहिलेको शासन व्यवस्था कुनै एक दल वा व्यक्तिको बलले मात्र स्थापना नभएको दाबी गर्दै प्रचण्डले भन्नुभयो – ‘आजको परिस्थिति कुनै एउटा पार्टी विषेश र नेता विशेषले ल्याएको होइन ।’
देशमा अहिले दुईवटा धार देखिएको प्रचण्डले बताउनुभयो । देशको आत्मसम्मानसहित सबै क्षेत्रलाई सुदृढिकरण एउटा धार र देशलाई पश्चगमनमा लैजाने अर्को धार देखिएको प्रचण्डले बताउनुभयो । संघीयतालाई खारेज गर्दै स्थानीय तहमा गएको अधिकार खोसेर फेरि केही केन्द्रका सीमित मानिसको हातमा लिने षडयन्त्र भइरहेको उहाँले बताउनुभयो ।
खेल क्षेत्रको विकासका लागि नेपाल ज्यादै अनुकूल ठाउँ भएको उहाँले बताउनुभयो । जुडो, कराँते लगायत खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवि बनाउन सकेको उहाँले बताउनुभयो । ‘यो क्षेत्रले राष्ट्को निम्ति राम्रो योगदान गरेको छ’– प्रचण्डको भनाइ छ । खेल क्षेत्र देशको अर्थतन्त्रको विकासमा समेत सहयोग गर्ने क्षेत्र भएको उहाँले बताउनुभयो । खेल क्षेत्र केन्द्र, प्रदेश र स्थानीय तहसम्म व्यवस्थित हुनुपर्ने पनि प्रचण्डले बताउनुभयो ।
-आईएनए न्युज एजेन्सी