२७ चैत्र २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गोसाइँकुण्डमा शिवमूर्ति राखिंदै

प्रकाशित मिति :  21 April, 2021 7:33 am


सुवा । नीलकण्ठ विराजमान  तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ ।

छब्बीसौं वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले  धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको जानकारी दिनुभयो ।

तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर  शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।  धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि कहिले स्वीकृत हुन्छ भन्ने राससका प्रश्नमा मन्त्री फुयाँलले प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने जानकारी दिनुभयो ।

प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताउनुभयो ।

समारोहमा गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको भलिबल तथा फुटबल खेलका विजेतालाई गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ  र लाङ्टाङ राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले मंगलबार ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

यही वैशाख १ देखि ४ गतेसम्म रसुवा रंगशाला धुञ्चेमा भएको फुटबल प्रतियोगितामा भाग लिएका १७ समूहमध्ये उत्तरगया यूनिक समूह प्रथम, अकियास धुञ्चे द्वितीय र ठूलोगाउँ युवा क्लबले तृतीय स्थान प्राप्त गरेको खेल संयोजक तेम्बा जिएलले जानकारी दिनुभयो  । वैशाख ५ र ६ गते भएको भलिबल खेलतर्फ भने भीमलाल हीराचन स्मृति समूह प्रथम, अकियास धुञ्चे द्वितीय र नौकुण्ड समूह तृतीय भएको बताइएको छ ।

भलिबलमा १३ समूहले भाग लिएका थिए । प्रथमलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले बताउनु भयाे ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !