२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई सिध्याउन अदालत जान्छौं – सुरेन्द्र पाण्डे

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०९:५५


काठमाडौं । माधव गुटले एमाले सिध्याउने अभियानलाई निरन्तरता दिएको छ ।

पार्टीले स्पष्टिकरण सोधेपछि सो समूह सर्वोच्च अदालत जाने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्नु पनि प्रतिगमन भएको भन्दै सर्वोच्च जान लागिएको सो गुटका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । ‘ओलीले हामीलाई लगातार स्पष्टिकरण सोध्नु विधानमा नभएको कुरा हो, हामीलाई कारबाही गरेर उहाँले निहु खोज्दै हुनुहुन्छ, त्यसैले अब हामी अदालतको ढोका ढकढक्याउँछौं’– पाण्डेले भन्नुभयो ।

पार्टी हित विपरित काम गरेपछि एमालेले माधव गुटका २७ प्रतिनिधि सभा र ५ जना प्रदेश सभा सदस्यलाई मंगलबार स्पष्टिकरण पत्र पठाएको थियो । सच्चिएर पार्टीमा फर्कँन भन्दै एमालेले स्पष्टीकरण मागेको हो । मंगलबार नै बसेको माधव गुटको भेलाले कारबाही भए सर्वोच्च जाने बताएको थियो । तर बुधबार भने सो गुटले कारबाही भएपनि–नभएपनि स्पष्टिकरण सोधिएकै कारण सर्वोच्च जाने बताएको हो ।

आफूहरुले पार्टी हित विपरित कुनै गतिविधि नगरेको सुरेन्द्रले दाबी गर्नुभयो । तर, माधव गुटले विभिन्न जिल्लामा समानान्तर कमिटीका नाममा बेग्लै कमिटी बनाएको छ । मंगलबार एमाले संसदीय दलका नेता ओलीले पठाउनु भएको स्पष्टिकरण पत्रमा एमाले फुटाउने उद्देश्यले समानान्तर गतिविधि गरेकाले किन कारबाही नगर्ने ? भनेर प्रश्न गरिएको छ ।

‘एमालेले हाम्रा सदस्यहरुलाई त्यसै पत्र काट्यो, हामी एमालेमा नै छौं, पार्टीको ह्वीप उल्लंघन पनि गरेका छैनाैँ, बिना अर्थको स्पष्टिकरण सोधेर हामीलाई फसाउन खोजिएको छ’ – पाण्डेको भनाइ छ । पार्टीभित्र समानान्तर गतिविधि चलाउन पाउनुपर्ने पाण्डेको भनाइ छ ।

अहिले मात्र नभइ विगतमा पनि आफूहरु कारबाहीमा परेको पाण्डेको गुनासो छ । अब सहेर नबस्ने भन्दै उहाँले कानुनी ढोका ढकढकाउने बताउनुभयो । ‘कानुन व्यवसायीसँग छलफल गरेर केही दिनमा नै अदालत जान्छौं, अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल लगायत विरुद्ध हामी कडा रुपमा प्रस्तुत हुन्छौं’ – पाण्डेले भन्नुभयो । अदालत जाने विषयमा तीब्र छलफल भइरहेको पनि उहाँले बताउनुभयो । ‘मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको छ, निवेदन दर्ता गर्ने तयारीमा छौं’ – उहाँले भन्नुभयो ।

मंगलबार बसेको माधव गुटको बैठकले अदालत जाने निर्णय गरेको सो गुटकी सांसद् रामकुमारी झाँक्रीले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !