४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पुनर्निर्माणमा सरकारकाे उपलब्धि – निजी आवासमा ९३ प्रतिशत प्रगति

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार १२:५३


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापनामा सन्तोषजनक उपलब्धि हासिल गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार त्रकार सम्मेलन गरेर पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात करिब ९३ प्रतिशत पुगेको छ । पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको छ । ‘यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने कुरामा विश्वस्त छौ’- ज्ञवालीले भन्नुभयाे ।

पुनर्निर्माणका क्रममा आएका ६ लाख ३४ हजार ९७३ गुनासाहरुको सम्बोधन गरेका समेत ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालकहरुको परिचालनसहित विशेष अभियान अघि बढाएको छ, साझेदार संस्थाहरुलाई पनि यस कार्यमा परिचालन गरिएको छ ।’

उहाँका अनुसार भूकम्पपछि २ सय ९९ वटा असुरक्षित ठाउँमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको ज्ञवालीले जानकारी दिनुभयाे । २ सय ८८ वटा पुनर्निर्माण भइरहेको उहाँले बताउनुभयो । ‘भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेका छौं, १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन्,यी विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ’-उहाँकाे भनाइ छ ।

कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २ सय ९६ को पुनर्निर्माण जारी छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

बाँकी सडककाे पुनर्निर्माण यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणकाे लक्ष्य छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !