४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हाम्राे धरहरा अब ढल्दैन – प्रम ओली

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०८:१०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परिचय, गौरव र इतिहाससँग जोडिएको धरहरा अब नढल्ने बताउनुभएको छ ।

नवनिर्मित धरहराको शनिबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको भावना, गौरव, अतित र इतिहाससँग धरहरा जोडिएकाले सोहीअनुसार पुर्ननिर्माण गरिएको बताउनुभयो ।

‘अब उप्रान्त धरहरा ढल्दैन, त्यो सुनिश्चितता गरेका छौं, अन्तिमपटक ०७२ सालमा धरहरा ढल्यो, त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं’ – उहाँले भन्नुभयो । आधुनिक प्रविधि प्रयोग गरेर बनाइएकाले अब धरहरा नढल्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘उस्तै संरचनामा बनाइएको छ, मैले भन्ने गरेको छु इतिहास झल्कने आधुनिकता टल्कने, सोही अनुसार आधुनिक सामग्री र प्रविधि प्रयोग गरेर पुरानै संरचनामा धरहरा बनेको छ ।’

धरहराको उद्घाटन गर्न पाउँदा एकदमै खशी लागेको भन्दै उहाँले धरहरा परिसरमा बनिरहेका अन्य संरचना चाँडो सक्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । धरहरा पुर्ननिर्माणमा खटिने र सहयोग गर्ने सबैलाई उहाँले विशेष धन्यवाद दिनुभयो ।

धरहरा उक्लिँदा आफूलाई आइफेल टावर चढ्दाको स्मरण भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘यहाँभन्दा माथि हावाको बेग ठूलो छ, जतिमाथि चढ्यो उति हावाको बेग चलेको छ, मलाई कता कता आइफल टावर चढेजस्तो फिल भयो ।’

समृद्धिको महान यात्रामा सरकार अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । आफूलाई चाहिने चीज आफैं उत्पादन गर्न सक्ने हुनुपर्ने पनि उहाँले बताउनुभयो । आँट र हिम्मत भए गर्न नसकिने कुनै पनि काम नरहेको पनि उहाँले बताउनुभयो । त्यसको उदाहरण धरहरा, रानीपोखरी लगायत संरचना भएका उहाँले सुनाउनुभयो । ०७८ साललाई सडक बालबालिका मुक्त नेपाल बनाइने बताउँदै उहाँले भन्नुभयो – ‘नेपाली भिख माग्ने जाती हुन सक्दैन, आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले २२ तले धरहराको आज एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्नुभयो । त्यसपछि ढोकामा राखिएको रिवन काटेर भित्र जानुभयो । धरहराको २० औं तलामा रहेको बाल्कुनीमा पुगेर उहाँले पुष्पवृष्टि गर्दै धरहराको औपचारिक उद्घाटन गर्नुभयो ।

०७२ सालको भूकम्पले ढलेको धरहराको छेउँमै उस्तै संरचनामा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर धरहरा बनाइएको हो । कोरोना महामारीको अवस्था हेरेर एक महिनापछि सर्वसाधारणको अवलोकनका लागि धरहरा खुला गरिने राष्ट्रिय पुर्ननिर्माण  प्राधिकरणले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !