४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शुक्रराज अस्पताल : विरामी पुग्नासाथ ढोकैमा दिइनेछ अक्सिजन

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०९:३८


काठमाडौं । अस्पतालको इमर्जेन्सी कक्षमा बिरामी खचाखच छन् ? चिन्ता गर्न पर्दैछ, इमजेन्सी कक्ष बाहिरको प्रतिक्षालयमै विरामीलाई अक्सिजन दिने व्यवस्था हुनेछ । अस्पतालमा बेड नपाउला कि भन्ने चिन्ता लाग्यो ? बेड भएन भने केही छैन, अस्पतालले आगनमा त्रिपाल टाँगेर सुविधा सम्पन्न बेड बनाएको हुनेछ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अर्थात् टेकु अस्पतालको तयारी हो यो । भारतमा कोभिड १९ महामारी भयानक बन्दै जाँदा नेपालमा पनि कठिन परिस्थिति आउने आशंका गर्दै शुक्रराज अस्पतालले तयारी थालेको हो ।

कोभिड संक्रमित विरामीलाई श्वास लिन गाह्रो हुन्छ, अक्सिजन चाहिन्छ । त्यसैले अस्पताल पुग्नासाथ ढोकैमा अक्सिजन दिने व्यवस्था गर्न लागिएको हो ।

‘सिकिस्त विरामी आउन सक्छन्, उनीहरुलाई तत्कालै अक्सिजन चाहिन सक्छ, त्यसैले इमेर्जेन्सी वार्डभित्र पस्ने गेट बाहिरको प्रतिक्षालयमै अक्सिजन दिने प्वाइन्ट व्यवस्था गर्दैछौं’– अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा विरामीको चाप हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै अस्पतालको आँगनमा त्रिपाल टाँगेर समेत उपचारको व्यवस्था गर्न लागिएको छ । उहाँले भन्नुभयो– ‘हामी डेडिकेटेड कोभिड अस्पताल हो । हामी अत्यन्तै खराब परिस्थितिको समेत सामना गर्नेगरी तयारी गरिरहेका छौं ।’

उहाँले अक्सिजनको पर्याप्त आपूर्तिको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

डा. सागरकुमारको अपिल छ– ‘अस्पताल आउने कि नआउने तपाईंकै हातमा छ । अस्पताल आउन मन भए लापरवाही गर्नुस्, मन छैन भने स्वास्थ्य रक्षाका सबै मापदण्ड पालना गर्नुस् । अस्पताल आउनै नपर्ने परिस्थिति बनाउनुस्, आफू पनि आफू बच्नुभयो भने तपार्इंले अरुलाई पनि बचाउनुहुन्छ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !