४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेराेना भयावह बन्दैछ, सकेसम्म घरबाहिर ननिस्कनू – उपप्रमुख नेपालगञ्ज उपमहानगर

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०५:४३


काठमाडौं । ‘पहिला होम आइसोलेशनमै बसेर पनि संक्रमण निको हुने अवस्था थियो, अहिले त्यस्तो छैन, उपमहानगरभित्र भेटिएका अधिकांश कोभिड–१९ संक्रमित अस्पताल भर्ना गर्नैपर्ने अवस्थाका छन्’ – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर भन्नुहुन्छ ।

पछिल्लो समय बाँके जिल्ला कोभिड–१९ बाट निक्कै प्रभावित बनेको छ । बाँकेमा संक्रमितका मृत्यु हुने दर पनि बढ्दै गएको छ । पहिलो लहरको सिकाइबाट स्थानीय सरकारहरु मिलेर नेपालगञ्जमा ८० बेडको आइसोलेशन बनाएका थिए । उद्योगी व्यवसायीसँग मिलेर उपमहानगरले अर्को ६५ बेडको आइसोलेशन पनि बनाएको थियो ।

कोरोना संक्रमितको उपचार अहिले ती दुईवटा आइसोलेशनमा भइरहेको छ । ‘हामीले बनाएका आइसोलेशन जम्मा १ सय ४२ बेडका छन्, धेरै संक्रमितलाई अक्सिजन नै चाहिने अवस्था भएकाले त्यो पनि अपुग भएको छ’ – मगरले बताउनुभयो । आइसीयू र भेण्टिलेटर चाहिने संक्रमित धेरै भएकाले अस्पतालमा बेड अभाव नै चुनौती बनेको उहाँको भनाइ छ ।

भारतसँग सीमानाका जोडिएकाले नेपालगञ्ज संक्रमणको उच्च जोखिममा छ । भारतमा अहिले कोभिड महामारीको महासुनामी आइरहेको छ । सो सुनामीको केही हिस्सा भारतबाट आउनेहरुमार्फत नेपाल भित्रिएको छ । भारतमा पछिल्लो समय देखिएको कोरोना भाइरस कडा छ । सो भाइरस नेपालमा पनि देखिकाले चुनौती थपिएको छ । संक्रमितले अस्पताल भरिएपछि सर्वसाधारण उपचारबाट वञ्चित हुने अवस्था देखिएको छ ।

‘खुल्ला नाका हाम्रो चुनौती हो, हामीले जमुना नाकामा हेल्थ डेक्स राखेका छौँ, तर अन्य धेरै खुल्ला नाका छन, दैनिक हजारौँ मानिस आउजाउ गर्छन्, रोक्नै सकिँदैन’– उमाको भनाइ छ । अहिले नेपालगञ्जमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन ग्यासको समेत अभाव हुन थालेको छ । नगरपालिकाले अक्सिजनसहितको आइसोलेशन बनाउन लागेको भएपनि अक्सिजन नै नपाइएको मगर बताउनुहुन्छ । ‘बजारमा अक्सिजनको सिलिण्डर नै छैन, सिलिण्डर व्यवस्थापन गरेर महानगरले २ सय ५० बेडको आइसोलेशन सञ्चालन गर्न लागेको छ’– उहाँले भन्नुभयो ।

सर्वसाधारको चरम लापरबाही र आफूहरुले कडाइ गर्न नसक्दा संक्रमण समुदायमै फैलिएको समेत उपप्रमुख मगरले बताउनुभयो । उहाँका अनुसार अहिले उपमहानगरले १ सय २० बेडको सामुदायिक आइसोलेशन सञ्चालनमा ल्याएर संक्रमितलाई राखेको छ । होम आइसोलेशनमा बस्नेको संख्या पनि त्यतिकै छ ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले एकसातादेखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिभर बिहान ६ बजेदेखि ९ बजेसम्ममात्र अत्यावश्यक पसल खोल्ने व्यवस्था मिलाइएको छ । कोरोना फैलँन नदिनका लागि उपमहानगरले कन्ट्याक्ट ट्रेसिङ गर्ने बताउँदै उहाँले भन्नुभयो – ‘बढी जोखिम क्षेत्रमा ट्रेसिङको काम थाल्छौं ।’

कोरोना नियन्त्रणमा स्थानीय सरकारको प्रमुख भूमिका हुन्छ । सुरुमा कडाइ नगर्दा र अहिले उपचारात्मक सेवामा लाग्नुपर्दा उपमहानगरलाई कोरोनाको दोस्रो लहर निक्कै महँगो पर्दै गएको छ । ‘ठूलो दुर्घटना हुने जोखिम बढ्दै गएको छ, कोरोनाका कारण स्थिति भयावह बन्दैछ’ – उमाले भन्नुभयो ।

नागरिकले ध्यान नदिए र सहयोग नगरे कोरोना नियन्त्रण गर्न नसिकने स्थानीय जनप्रतिनिधिको निष्कर्ष छ । ‘व्यवस्थापन पक्षमा हामीले काम गरिरहेका छौँ, अहिलेको स्थितिमा सरकारले चाहेर मात्र पनि हुँदैन, जनताको ठूलो भूमिका हुन्छ, हामीले लकडाउन गरेका छौँ, घरबाट बाहिर मात्रै ननिस्किदिए पनि धेरै सहयोग हुन्छ’ – मगरले भन्नुभयो ।

सकेसम्म घरबाट बाहिर ननिस्किन उपप्रमुख मगरले सर्वसाधारणलाई विशेष अनुरोध समेत गर्नुभयो । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !