२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अल्बानियामा संसदको चुनाव

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०७:४२


टिराना । पूर्वी युरोपेली मुलुक अल्बानियामा आइतबार संसदको चुनाव शुरु भएको छ ।

प्रधानमन्त्री एडी रामाले आइतबार बिहानै एक सन्देश जारी गर्दै स्वतन्त्र र भयरहित चुनावको वातावरण निर्माण गर्न सबैसँग आग्रह गर्नु भएको छ । उहाँ पनि तेस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । प्रधानमन्त्री रामाले आफ्नो पार्टी सोसलिष्ट चुनावमा बहुमत नल्याए पद त्याग्ने घोषणा गर्नु भएको छ ।

चुनावमा एक दर्जन विपक्षी दलहरुले डेमोक्र्याट्स नामको गठबन्धन बनाउँदै प्रधानमन्त्री रामालाई चुनौती दिँदैछन् । डेमोक्र्याट्सका नेता लुलजिम बाशाले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री रामाले दुई कार्यकालमा अल्बानियालाई बर्बाद गरेकाले अब उहाँलाई मौका दिन नहुनेमा जोड दिनुभयो ।

चुनावमा सहभागी सबै दल युरोपेली युनियनको सदस्यता लिने पक्षमा उभिएका छन् ।

जनमत सर्वेक्षणमा रामाको समाजवादी पार्टीले अन्य विपक्षीको तुलनामा अग्रता लिएको देखिएको छ ।

रामाप्रति रुष्ट देखिएका राष्ट्रपति एलिर मेटाले आइतबार सबेरै टिरानाको एक मतदान केन्द्रमा गई मतदान गर्नु भएको छ ।

करिब २८ लाख जनसंख्या रहेको अल्बानिया युरोपकै सबैभन्दा गरिब मुलुक हो । कोरोनाभाइरस महामारीले अल्बानियाको अर्थव्यवस्था र जनजीवन निकै प्रभावित बनाएको छ । अल्बानियाको विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन क्षेत्रमा व्यापक गिरावट आएपछि देशकै अर्थतन्त्रमा असर परेको छ ।

प्रधानमन्त्री रामाले आगामी मे महिनाको अन्त्यसम्ममा करिब पाँच लाख अल्बानियालीलाई कोभिड विरुद्धको खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !