४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडले थला पर्‍यो बाँके – स्वास्थ्य प्रमुख धिरजंग शाह

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०९:००


काठमाडौं । ‘कोभिड–१९ संक्रमित बढेपछि जिल्ला नै थला परेको छ, संक्रमण भयावह बन्दै गएको छ’ – जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भन्नुभयो ।

बाँकेमा संक्रमणको अवस्था जटिल बन्दै गएको उहाँले बताउनुभयो । शाहका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार नाघिसकेको छ । सक्रिय संक्रमितमध्ये एक सय ८१ जना भेरी अस्पतालमा रहेका उहाँले बताउनुभयो । ५५ जना मेडिकल कलेज कोहलपुरमा छन् ।

करिब ४५ जनालाई एउटा होटलमा आइसोलेशन  सेन्टर बनाएर राखिएको छ । बाँकी होम आइसोलेशनमा छन् । ‘अस्पतालमा रहेका केहीको अवस्था निक्कै गम्भीर छ, उहाँहरुलाई आईसीयू र भेण्टिलेटरमा राखिएको छ, घरमा बसेकालाई पनि स्वास्थ्यकर्मीको निगरानीमा उपचारको व्यवस्था मिलाएका छौँ’ – शाहले भन्नुभयो ।

दैनिक सात जनासम्म संक्रमितको ज्यान जान थालेपछि जिल्लाबासी आतंकित भएका छन् । स्वास्थ्यकर्मी समेत आत्तिएका छन् । अझ केही ठाउँमा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा उपचार नै प्रभावित भएको छ ।

यसअघिको भन्दा अहिलेको कोरोना भाइरस निक्कै खतरनाक देखिएको छ । कोभिड–१९ का नयाँ–नयाँ भेरियन्टहरु नेपालमा पनि भित्रिएका छन् । ‘अघिल्लो पटक पोजेटिभको संख्या निक्कै कम थियो, गम्भीर प्रकृतिका बिरामी पनि कम थिए, अहिले परीक्षण गरिएकामध्ये ५० देखि ८० प्रतिशतसम्म पोजेटिभ देखिएका छन्’ – शाहको भनाइ छ

बिरामीको चाप बढेको कारण नेपालगञ्जमा अस्पतालका बेडले धान्न नसक्ने अवस्था बनेको छ । ‘मृतकको संख्या पहिलाको भन्दा तुलनात्मक रुपमा बढी छ, संक्रमितको संख्या बढिरहेकाले कारण अस्पतालमा व्यवस्थापन गर्न समेत समस्या भएको छ’– शाहले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !