४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालगञ्जका सबै अस्पताल नियन्त्रणमा लिएर संक्रमितको उपचार गरौं – मोहम्मद इश्तियाक राई

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १०:४४


काठमाडौं । ‘सरकारले यहाँका सबै स्वास्थ्य संस्था केही समय नियन्त्रणमा लिएर उपचार गर्नुपर्छ, अन्यथा बाँकेमा कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सकिँदैन’ – बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहम्मद इश्तियाक राईको भनाइ छ ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले मात्र अहिले नेपालगञ्जमा कोभिड संक्रमितलाई उपचार गर्दै आएका छन् । निजी अस्पताल बिरामीको उपचार गर्नबाट पन्छिदै आएका छन् । ‘सबै निजी अस्पताललाई अब राज्यले नियन्त्रणमा लिएर संक्रमितको उपचार गर्नुपर्छ’ – राईले भन्नुभयो ।

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दैनिक ५ सयको संख्यामा संक्रमित थपिन लागेका छन् । ‘अहिले बेडको चरम अभाव छ, यसको व्यवस्थापनमा ध्यान जानुपर्छ, यसका लागि मैले सांसद् विकास कोषबाट ५० लाख रुपैँया छुट्याएको छु, नागरिक स्तरबाट एक हजार सहयोग अभियान थालिएको छ, अब प्रदेश र स्थानीय सरकारको आकस्मिक कोषको पैसा पनि हालेर बेड र जनशक्ति व्यवस्थापन गर्नुपर्छ’ – उहाँले भन्नुभयो ।

नेपालगञ्जमा धेरै सार्वनिक ठाउँका भवन खाली रहेका भन्दै उहाँले ती भवनलाई आइसोलेशनको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । राईका अनुसार कृषि सामग्री संस्थाको गोदाम धर्मशाला र मदरसा खाली भएका छन् । निर्माणाधीन जेलको भवन पनि खाली छ । ती ठाउँमा अस्थायी बेड र अक्सिजनको व्यवस्था गरेर संक्रमितको उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालगञ्जमा अक्सिजनकै कारखाना भएकाले अक्सिजन अभाव नहुने पनि इश्तियाकले बताउनुभयो ।

संक्रमितको उपचार र व्यवस्थापनबारे प्रमुख जिल्ला अधिकारीलाई मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि म्यासेज गरेको उहाँले सुनाउनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश क्रिपाठीसँग भने सम्पर्क नभएको सांसद् राईको भनाइ छ ।

नागरिक, राज्य र सरोकारवाला र नागरिक सचेत नभए नेपालगञ्जले ठूलो क्षति व्यहोर्नुपर्ने पनि अवस्था आउने सांसद् राईले बताउनुभयो । ‘जनताको जीवन रक्षा अहिलेको पहिलो प्राथमिकता हो, यसमा सबै लाग्नुपर्छ, सबै मिलेर नलागेसम्म संक्रमण नियन्त्रण गर्न सकिँदैन’ – राई भन्नुहुन्छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !