४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वीनाकामा आगमनमा रोक

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०४:२७


झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।

भारतमा कोभिड–१९ को संक्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मंगलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

पछिल्लो समय दैनिक सात सय भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मंगलबार भारतबाट ६ सय २३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पिसिआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उहाँले बताउनुभयो । ‘अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ’, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भन्नुभयो, ‘भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।’

भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पिसिआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ ।

सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !