२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेश सभा बैठक तत्काल नबस्ने

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:३५


काठमाडौं । गण्डकी प्रदेशकाे प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।

सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा सभामुख नेत्रनाथ अधिकारीले बुधवार हठात रुपमा बैठक स्थगित गर्नुभएको थियो । गण्डकीकाे विशेष अधिवेशन वैखाख १३ देखि सुरु भएकाे थियाे ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि बुधबार मतदान हुने तय थियो । तर प्रस्ताव पास गर्न आवश्यक मत नपुग्ने देखेपछि प्रदेश सभामुख अधिकारीले प्रदेश सभा बैठक स्थगित गर्नुभएको थियो । अविश्वास प्रस्ताव पास हुन ३१ मत चाहिनेमा ३० मत मात्रै हुने देखेपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गर्न लगाउनुभएको थियो ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का सांसद् खिमविक्रम शाही अनुपस्थित हुनुभएको थियो । स्वतन्त्र सांसद् राजिव गुरुङ पनि बैठकमा अनुपस्थित हुनुभएकाे थियाे ।

मतदानको समयमा आफ्नो पार्टीका सांसद् अनुपस्थित भएको भन्दै बैठक स्थगित गर्न जनमोर्चाकी सांसद् पियारी थापाले सभामुखसमक्ष निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा संसदीय मान्यता विपरित सभामुखले बैठक स्थगित गर्नुभएको नेकपा एमालेका सांसद् राजिव पहारी बताउनुहुन्छ । कांग्रेस र माओवादीवादीको खेताला सभामुख बन्नुभएको पहारीले बताउनुभयो ।

प्रदेश सभा बैठक अब कहिले बस्छ भन्ने कुनै निश्चित छैन । बैठक कहिले बस्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रदेश सभा सचिवलायका प्रवक्ता जितेन्द्रजंग केसीले बताउनुभो । ‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना हिजो निकालिसकिएको छ, अब सभामुखको पहलमा कार्यव्यवस्था समितिको बैठक बसेपछि मात्र नयाँ कार्यसूची बन्ने छ’ – उहाँले भन्नुभयो ।

बुधवारको घटनाले गर्दा असमझदारी उत्पन्न हुने र बैठक सञ्चालनमा नै समस्या हुने चिन्ता प्रदेश सभा सचिवालयका कार्मचारीमा देखिएको छ । ‘हिजोको घटनाले असमझदारी बढ्न सक्छ, अब सभामुखले जिम्मेवारी लिएर समझदारीको प्रयास गर्नुहोला’– ती कर्मचारीले भने ।

गण्डकी प्रदेश सभामा जनमोर्चाका ३ जना सांसद् छन् । तीमध्ये बुधबारको बैठकमा शाही अनुपस्थित हुनुभयो । संसदीय दलका नेता कृष्ण थापाले समेत सरकार विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आउनुभएको छ ।

हिजोको घटनालाई सदनको फोहोरी खेलको संज्ञा दिनुभएको छ । आफ्नो पक्षमा निर्णय नआउने देखेपछि सभामुखले बुधवारको बैठक स्थगित गर्नुभएको उहाँको भनाइ छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !