४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले तोक्यो सबै तहको अधिवेशन मिति

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०९:२४


काठमाडाैं । पार्टीकाे दशाैं महाधिवेशनका लागि नेकपा एमाले एक पाइला अगाडि बढेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख ६, १० र १२ गते बसेकाे दशाैं महाधिवेशन आयाेजक कमिटीकाे बैठकका निर्णयानुसार एमालेले सबै तहको अधिवेशन मिति ताेकेकाे छ । महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएकाे कार्यतालिकालाई परिमार्जनसहित पारित गर्दै एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

वैशाख ६, १० र १२ गते बसेकाे दशाैं महाधिवेशन आयाेजक कमिटी तथा १२ गते बसेकाे पहिलाे स्थायी कमिटी बैठकका निर्णयलाई समेटेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन  (अपानि) जारी गर्नुभएकाे हाे । प्रधानमन्त्री एवं  एमाले अध्यक्ष ओलीले एमाले ब्युतिँएपछि गरेका निर्णयहरुको जानकारी गराउँदै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।

ती बैठकले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरु गरेको भन्दै सर्कुलर जारी गरिएको अपानिमा उल्लेख छ । ती निर्णयलाई ग्रहण गर्दै काम गर्न प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन दिनुभएकाे छ ।  ‘राष्ट्रिय राजनीति तथा पार्टी निर्माण एवं सुदृढीकरणका सम्बन्धमा गरिएका यी निर्णयहरुलाई हार्दिक रुपमा ग्रहण गर्न र तत्परता तथा एकरुपताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको छ’ – अपानिमा उल्लेख छ ।

असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने पनि अपानिमा उल्लेख छ । एमालेले ०७८ साउन २५ देखि २७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवं निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आयोजना गरिएकाे पनि जनाएकाे छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकेपछि भदौ ५ गते देशभरका वडा कमिटीको अधिवेशन गर्ने अपानिमा उल्लेख छ। भदौ १५ मा पालिका कमिटीहरूको अधिवेशन हुनेछ ।  भदाै ३० मा ७७ जिल्ला र विभागीय कमिटीको अधिवेशन गर्ने एमालेले जनाएकाे छ । असोज २३ गते प्रदेश कमिटीको अधिवेशन गर्ने मिति एमालेले तय गरेकाे छ ।

सबै तहका अधिवेशन पूरा गरेपछि एमालेले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिने पनि अपानिमा उल्लेख छ । एमालेले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

अन्तरपार्टी निर्देशनमा महाधिवेशन आयोजक कमिटीबाट पारित भएका राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठनलगायतकाे सारसंक्षेप समावेश गरिएको छ ।

यस्ताे छ अपानि:

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !