४ चैत्र २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामीसँग बहुमत छैन, तत्काल नयाँ सरकार बन्दैन- देउवा

प्रकाशित मिति :  30 April, 2021 11:26 am


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुरले नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढाउन नसकिएको बताउनुभएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमबीच शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताउनुभयो । पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि कांग्रेस र माओवादी केन्द्रका सांसद्ले मात्र बहुमत नपुग्ने देउवाले प्रष्ट पार्नुभयो ।

जसपाले निर्णय नगरेकाले नयाँ सरकार बनाउने प्रक्रियामा अगाडि बढ्न नसकिएको पनि उहाँले प्रष्ट पार्नुभयो । यद्यपि जसपासँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो । देउवाले भन्नुभयो – ‘जसपासँग मेरो कुरा भइरहेको छ, बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला, के–के गरिरहेकाछौं भनेर सबै कुरा यता किन भन्ने मैले ?’

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन समेत बहुमत नपुगेको बताउँदै देउवाले भन्नुभयो – ‘अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन, कांग्रेसको संख्या नपुगेपछि केका लागि अविश्वासको प्रस्ताव दर्ता गर्ने ? संख्या पुग्दैन भन्ने त सबैलाई थाहा छ नि, प्रचण्डलाई पनि थाहा छ ।’

सरकारको कमजोरीका कारण कोभिड संक्रमण बढेको देउवाले आरोप लगाउनुभयो । सबै अस्पतालमा आवश्यक औषधि र बेडको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो । ‘सीमा क्षेत्रमा परीक्षण तीब्र पार्नुपर्छ, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरियोस्, खोप लगायत अत्यावश्यक सामग्रीको आपूर्ति तथा खरिदको लागि पहल थालियोस्’– देउवाको माग छ  ।

कोभिड जोखिम रोक्न देशभर सचेतना अभियान सञ्चालनका लागि कांग्रेसले पहल थाल्ने उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !