३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अझै कडा हुदैँ निषेधाज्ञा, भारतसँगका १३ नाका खुल्ने

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:१८


काठमाडौं । सरकारले निषेधाज्ञा लागू भएका जिल्लामा अझ कडाइ गर्ने भएको छ ।

कोभिड संक्रमणदर तीब्र गतिमा फैलिएपछि सरकारले निषेधाज्ञामा अझ कडाइ गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा अझ कडाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ वटा जिल्ला कोभिडबाट अति प्रभावित छन्  । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कैलाली, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की ,दाङ बाँके, रुपन्देही ,पाल्पा, बर्दिया ,कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा थेग्नै नसक्ने गरी संक्रमण फैलिएको छ ।

बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको सीसीएमसी संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

बैठकले केन्द्रका मन्त्रीहरुलाई प्रदेशमा समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । पाण्डेका अनुसार बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले भारततर्फ खुलेका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय बैठकले गरेको छ । जसअनुसार काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका खुलै हुनेछन् । ती नाकामा क्वारेन्टिन राखिएको छ ।

विदेशबाट नेपाल आएका विदेशीलाई क्वारेन्टिन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सार्वजनिक निर्माणका सबै काम बन्द गर्न सिफारिस गरेको छ । निर्माण कार्य सुचारु गर्नैपर्ने भए कामदार तथा कर्मचारीहरुलाई निमार्ण स्थलमा नै राख्नेगरी सञ्चालन गर्न दिने सिफारिस पनि बैठकले गरेको छ । उद्योगहरु चलाउनुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरि सञ्चालन गर्न दिन सिफारिस गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !